मुख्यमन्त्री यादवको शपथ ग्रहण आज, आजै मन्त्रिपरिषद् विस्तार


काठमाडौं, मंसिर २१ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस प्रदेशसभा संसदीय दलका नेता यादव यही मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री यादवले अहिले बिहान साढे १० बजे मधेश भवन जनकपुरमा पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । पद तथा गोपनीयताको शपथपछि उनले आजै सानो आकारको मन्त्रिपरिषद् पनि गठन गर्ने बताइएको छ।

ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएपछि कांग्रेस संसदीय दलका नेता यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका यादवलाई नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल, जसपा नेपाल , जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र नेकपा (एकीकृत समाजवादी) गरी ७ वटा राजनीतिक दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।