मधेशमा सात सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी, कुन दलबाट कति मन्त्री ?


काठमाडौं, २१ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिने बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले सरकारमा सहभागी सातै दलबाट आज एक÷एक जना मन्त्री बनाइने र बाँकी मन्त्रिपरिषद्लाई विश्वासको मत लिएपछि पूर्णता दिइने बताए ।

‘सात दलीय गठबन्धनको मिटिङमा सहमति भएको छ । आज प्रत्येक दलबाट एक–एक जनालाई मन्त्री बनाउने र चाँडै विश्वासको मत लिने र बाँकी प्रक्रियाहरु अगाडि बढाउने,’– नवनियुक्त मुख्यमन्त्री यादवले भने ।

आफूलाई मुख्यमन्त्री बनाउनका लागि एमालेबाहेकका सबै दलले साथ दिएको उनले बताए । आज पनि सात दलीय गठबन्धनको मिटिङ रहेको र त्यही मिटिङबाट मन्त्रीको नाम टुङ्गो लगाइने उनले बताए ।

साथै, उनले मधेशमा धेरै ठूलो मन्त्रिमण्डल नबनाइने पनि बताए । आफ्नो टिम राम्रो रहेको र कार्यकालमा पनि राम्रो गर्ने उनले बताए । उनले आफ्नो कार्यकालमा मधेशमा रहेको बेथितिको अन्त्य गरेर सुशासन कायम गर्ने लक्ष्य रहेको बताए ।