चन्द्रपुर (रौतहट), २१ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ । शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अवरुद्ध गरेका थिए ।
शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो ।
बस मालिकले कानुनले तोकेकोभन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका थिए । वृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताए ।
बसका चालक अमृतबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले राजमार्ग खुलाइएको जानकारी दिए । राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका थिए ।
मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए । प्रहरीका अनुसार मोटरसाइकलमा सवार मृतक पटेलका छोरा १२ वर्षीय युवराजको निधारमा चोट लागेको छ भने ११ वर्षकी छोरी आकृतिको खुट्टा र टाउकामा चोट लागेको छ । पटेलका १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ । रासस




प्रतिक्रिया