उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान


महोत्तरी, २३ मङ्सिर । सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।

“हाम्रो त खेतीमा बढ्दो लागत र आम उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि हेरेर प्रतिक्विन्टल ७५० पाउनुपर्छ भन्ने थियो । तर सरकारले मूल्य र अनुदान निर्धारणमा ६९० रुपैयाँ मात्रै निर्धारण गरिदियो”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले भने । उनका अनुसार मूल्य र अनुदानसमेत गर्दा गत वर्षभन्दा प्रतिक्विन्टल ७० ले बढेको छ । सरकारले सोमबार चिनी उद्योगले दिने मूल्य प्रतिक्विन्टल ६२० र सरकारले दिने अनुदान ७० गरी जम्मा प्रतिक्विन्टल ६९० निर्धारण गरेको छ ।

यतिबेला खुट्टी उखु (दोस्रो वर्षको बाली) चाँडै काटेर अन्य फसल समयमै लगाउन पर्ने दबाबले किसान अब चाँडै उद्योग सञ्चालन पर्खेर बसेका छन् । “अहिले हामीसँग मूल्यमा चित्त दुखाएर सरकारसँग निहुँ खोज्ने समय छैन, अब खुट्टी उखु काट्न ढिलाइ भए खेतबारी छ महिना बाँझै बस्ने चिन्ता छ”, भङ्गाहा–४ का किसान अरुण गिरी भन्छन्, “अब चाँडै उद्योग सञ्चालन होस् भन्ने हतारो छ ।” एकपटक लगाएर दुई वर्ष बाली लिन पाइने उखुको पहिलो वर्षको फसललाई ‘मुडन’ र दोस्रो वर्षको लाई ‘खुट्टी’ भनिन्छ । खुट्टी उखु काटेर पुस तेस्रो साताभित्र अन्य बाली लगाइ सक्नुपर्ने समयको दबाबमा अहिले आपूmहरु रहेको गिरीको भनाइ छ ।

पुस तेस्रो साताभित्र अर्को बाली नलागे असारसम्म पर्खन पर्ने किसानको भनाइ छ । “अहिले बाली लगाउन नपाए खेतबारी रुखिन्छ, अनि जेठ÷असारमा पर्ने पानी पर्खन पर्ने हुन्छ”, बर्दिवास–९ पशुपनिगरका किसान रामविनोद महतोले भने, “यसैले अहिले खुट्टी उखु काट्ने हतारो परेको हो ।”

उखु किसान र यिनका प्रतिनिधिसंस्था उखु उत्पादक कृषक सङ्घ, उखु उत्पादक किसान महासङ्घले प्रत्येक वर्ष उखुको मूल्य निर्धारण कात्तिक मसान्तभित्र गरीसक्नुपर्ने र मङ्सिर दोस्रो साताभित्रै खुट्टी उखुको क्रसिङ खोल्नुपर्ने माग राख्दै आएका छन् । सरकारले सधैँजसो किसानलाई मूल्य मान्न बाध्य हुने बेला पारेर मूल्य निर्धारण गर्ने गरेको बर्दिवास–१२ बिजलपुराका किसान विश्वनाथ सिंह बताउँछन् ।

“सरकारले यसपाली उखुको मूल्य प्रतिक्विन्टल ३५ बढ्यो । अनुदान ७० दिने घोषणा ग¥यो”, उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष कुशवाहा भन्छन्, “गत वर्षभन्दा यो निकै राम्रो हो ।” गतवर्ष उखुको मूल्य ५८५ प्रतिक्विन्टल र अनुदान सरकारले ३५ मात्र दिएको थियो ।

जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज अझै सञ्चालनको सुरसारमा नहुँदा खुट्टी उखु काट्ने बेला घर्किन लागेको किसानको चिन्ता छ । उद्योगले अब मूल्य निर्धारणको पाटो टुङ्गिएको हुँदा चाँडै क्रसिङ थाल्ने तयारी गरिएको जनाएको छ । यसपालि क्रसिङ खोल्नुअघिको डोला पूजा (उपकरण पूजा) यही मङ्सिरभित्रै सम्पन्न गरेर पुस पहिलो साता क्रसिङ खोल्ने तयारी रहेको उद्योगले जनाएको छ । गत वर्ष मङ्सिर २६ गते नै उखु क्रसिङ थालेको उद्योगले यसपालि भने ढिलो गरेको छ ।

जिल्लामा यसपालि नौ हजार ६०० बिघामा उखुखेती गरिएको छ । जसमध्ये पाँच हजार बिघाको खुट्टी र चार हजार ६०० बिघाको मुडन रहेको उखु उत्पादक कृषक सङ्घका जिल्ला अध्यक्ष कुशवाहा बताउँछन् । रासस