काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पार्टीको ११औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको सम्भावना बाँकी नै रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै भट्टराईले आफूहरुको तर्फबाट सर्वसम्मत गर्ने प्रयत्न अन्तिम समयसम्म हुने बताएका हुन् । सर्वसम्मत नेतृत्व चयनको सन्दर्भमा आफूहरु पूर्णत लचक रहेको उनले बताए । आजको संकटपूर्ण स्थितिमा सिंगो मुलुकलाई एकतावद्ध गराउनका निम्ति पहिलो शर्त पार्टी एकता रहेको उनले बताए । पार्टीभित्रका सबै योग्य नेताहरुलाई समेटेर केन्द्रीय कमिटी बनाउन सक्नुपर्ने बताए ।
यदि सर्वसम्मत भएन भने स्वच्छ, मर्यादित रुपमा प्रतिस्पर्धाबाट निर्वाचन गर्ने उनले बताए । नेता भट्टराईले यस पटक ईश्वर पोखरेलको नाममा सर्वसम्मती गरेर जान अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरे । ‘ईश्वर पोखरेल नै किन ब्याक हुनुपर्यो ? केपी ओली ब्याक हुँदा पनि त हुन्छ नि । उहाँले त १२ वर्ष पार्टीको नेतृत्व सम्हालिसक्नुभयो । गएको १० वर्षमा ६ वर्ष प्रधानमन्त्रीको रुपमा कार्यसम्पादन गरिसक्नुभयो । अब एउटै व्यक्ति पटक–पटक किन नेतृत्वमा बस्ने ? अलिकति नयाँपन दिऊँ, अहिलेको नेपाली समाजले त्यो खोजिराखेको छ । नेतृत्वमा नयाँपन दिएर जाउँ, ईश्वर कमरेडको नेतृत्वमा सर्वसम्मत बनाउन प्रयत्न गरौं,’– उनले भने ।
पोखरेलको नाममा सर्वसम्मत नहुने हो भने तेस्रो व्यक्तिबाट विकल्प खोजिनुपर्ने उनले बताए । उनले भने, ‘त्यो भएन भने ईश्वर पोखरेल र केपी ओली दुवै जना विदा भएर अर्को तेस्रो व्यक्तिको नाममा पनि त हामी सर्वसम्मत गर्न सक्छौं ।’




प्रतिक्रिया