उपराष्ट्रपतिसँग कतारका राजदूतकाे भेटवार्ता, ३० जना नेपाली कारागारबाट रिहा गरिएको जानकारी


काठमाडौँ, २४ मङ्सिर । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अल अन्सारीले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपाल र कतारबीचको आपसी सम्बन्ध, बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा सहकार्य, श्रम, आप्रवासन, व्यापार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सो अवसरमा उपराष्ट्रपति यादवले सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र कतारबीचको सम्बन्ध मित्रता, आपसी सम्मान, विश्वास र सहयोगमा आधारित रही उत्कृष्ट रूपमा विकसित भएकामा सन्तोष व्यक्त गरे । उनले संयुक्त राष्ट्रसङ्घ तथा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका रूपमा नेपाल र कतारले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय मञ्चहरूमा निरन्तर सहकार्य प्रशंसनीय रहेको बताए ।

उनले हालैका वर्षहरूमा उच्चस्तरीय भ्रमणहरूको आदानप्रदानले दुई देशबीचको सम्बन्ध अझ घनिष्ट बनेको बताए । कतारमा करिब तीन लाख ६५ हजार नेपाली श्रमिक कार्यरत रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले रोजगारीको अवसर प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरे । ‘नेपाली श्रमिकहरूले कतारको अर्थतन्त्रमा पुर्याएको योगदान र नेपालमा रहेका परिवारलाई सहयोग गर्दै नेपालको अर्थतन्त्रलाई सुदृढ बनाएकामा खुसी व्यक्त गर्दछु । नेपाल सरकार सुरक्षित तथा सम्मानजनक वैदेशिक रोजगारी सुनिश्चित गर्न प्रतिबद्ध छ,’– उनले भने ।

उपराष्ट्रपति यादवले सन् २०२५ को रमादान तथा ईदका अवसरमा नेपाली बन्दीहरूलाई ‘अमीरि क्षमादान’ प्रदान गरेकामा कतारका अमिरप्रति हार्दिक धन्यवाद व्यक्त गरे । साथै, नेपाल २०२६ मा अतिकम विकसित मुलुकको श्रेणीबाट स्तरोन्नति गर्ने र २०३० सम्म मध्यम आय भएको देश बन्ने लक्ष्य राखेको सन्दर्भमा कतारसहितका मित्रराष्ट्रहरूबाट थप लगानी तथा सहयोग आवश्यक रहेको बताए ।

नेपाल र कतारबीचको प्रत्यक्ष हवाई सम्पर्कले पर्यटन प्रवर्द्धन तथा व्यापार विस्तारमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै उपराष्ट्रपति यादवले काठमाडौँ र दोहा प्रत्यक्ष उडानलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिए । नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा नेपाली जनताको आतिथ्यभाव कतारी पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने बताए ।

कतारको राष्ट्रिय दिवसका अवसरमा उपराष्ट्रपति यादवले राजदूतमार्फत कतारका अमिर हिज हाइनेस शेख तमिम बिन हमाद अल–थानी तथा कतारका जनतालाई हार्दिक बधाई दिँदै अमिरको सुस्वास्थ्य, खुसी तथा कतार जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरे । र्नुभयो ।

कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीले नेपाल र कतारबीच धेरै पुरानो तथा बलियो सम्बन्ध रहेको उल्लेख गर्दै नेपाल सरकारको अनुरोधमा कतारले ३० जना नेपालीलाई कतारको कारागारबाट रिहा गरेको बताए ।