धनुषामा एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही


जनकपुरधाम, ७ पुस । सरकारले तोकेको मापदण्ड विपरीत अवैध रूपमा, दर्ता नगरी सञ्चालित एक अस्पतालसहित चार वटा औषधि पसललाई कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

औषधि व्यवस्था विभाग वीरगञ्ज कार्यालयले जनकपुरधामसहित धनुषामा गरेको अनुगमन तथा छड्केमा सरकारले तोकेको मापदण्डअनुसार सञ्चालनमा नरहेका पाइएपछि अस्पताल तथा औषधि पसललाई सिल गरी कारोबार रोक्का गरिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शम्भु साहका अनुसार जनकपुरको रामानन्द चौकमा सञ्चालित जनकपुर सुरक्षा अस्पताल तथा फार्मेसी, प्रशान्त मेडिकल हल बजरङ्ग चौक, राघव सजिर्कल पसल माछा बजार र कम्युनिटी सभिर्स अस्पताल वीरेन्द्र बजारलाई सिल गरिएको हो ।

कार्यालयले निजी अस्पतालसहित कूल दुई दर्जन औषधि पसलको अनुगमन गरेको थियो । जसमध्ये ११ वटा औषधि पसलमा फर्मासिस्ट नरहेको तथा आफूखुसी औषधि बिक्रीवितरण गरेको पाइएपछि पहिलोपटकलाई चेतावनी दिइएको प्रमुख साहले बताए । रासस