बन्दीपुरमा भ्रमण वर्ष र ल्होसारको अवसरमा सांस्कृतिक कार्यक्रम


-मिला दरै

डुम्रे (तनहुँ), ७ पुस ।पहाडकी रानी उपनामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा बृहत् सांस्कृतिक कार्यक्रम गरिने भएको छ । बन्दीपुर भ्रमण वर्ष समापनको अवसर पारी यही पुस १५ गते ‘भ्रमण वर्ष तथा तमु ल्होसार बृहत् कौराहा नृत्य प्रदर्शन’को तयारी गरिएको हो ।

कौराहाको उद्मस्थलका रूपमा तनहुँलाई लिइने तथा जिल्लामा ठूलो मासले यसलाई पालना गर्ने भएकाले कौराको संरक्षण तथा प्रवर्द्धनका साथै पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बृहत् कौरा कार्यक्रमका संयोजक एवं सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले जानकारी दिए । बन्दीपुर भ्रमण वर्ष समापनसँगै ल्होसार पर्व मनाउन विविध सांस्कृतिक कार्यक्रमका साथै खाना महोत्सव गर्ने तयारी भएको उनले बताए ।

उनले भने, “पुस १५ गते तमु ल्होसारमा आजसम्मकै धेरै कलाकारद्वारा एउटै मञ्चमा प्रस्तुत गरिने चुट्का (कौराहा) नाच, पुस १६ गते चर्चित ब्याण्डका साथ ‘न्यू इयर इभ’ कार्यक्रम र पुस १७ गते राष्ट्रिय कलाकारको प्रस्तुतिसहित विविध खानाका परिकार समावेश गरी खाना महोत्सव हुनेछ ।”

दुई रात तीन दिने उक्त महोत्सवमा बन्दीपुरका सम्पूर्ण होटल तथा घरबास (होमस्टे)का साथै केबलकारमार्फत् आवतजावतको व्यवस्था गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक वैश गुरुङले जानकारी दिए । उनका अनुसार सन् २०२६ लाई साहसिक पर्यटन वर्षका रूपमा मनाउने योजना बनाइएको छ ।

‘हाम्रो ल्होसार, हाम्रो कौरा, कौराको उद्मस्थल तनहुँ, हाम्रो गर्व’ भन्ने मूल नाराका साथ तनहुँको सांस्कतिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्दै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु कार्यक्रमको उद्देश्य रहेको भ्रमण वर्षका संयोजक गुरुङले बताए ।

कार्यक्रममा सहआयोजक, प्रवर्द्धक, कलाकार, दर्शक तथा सहयोगी सबैको खुला सहभागिता रहनेछ । सहभागी हुन इच्छुक व्यक्तिले आआफ्नो जातीय तथा संस्थागत पोशाकमा उपस्थिति जनाउनु पर्नेछ भने समूहगत रूपमा सहभागी हुन चाहनेले कम्तिमा २५ जनाको समूह बनाएर दर्ता गर्नुपर्नेछ ।

यस्ता समूहलाई नृत्य प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिने छ । सहभागी कलाकार तथा समूहलाई सम्मान तथा पुरस्कारको व्यवस्था पनि गरिएको आयोजकले जनाएको छ ।

दैनिक एक हजार ७०० पर्यटक भित्र्याउने लक्ष्य

हाल बन्दीपुरमा ७५ होटल सञ्चालनमा छन् । यसबाहेक चार वटा घरबास (होमस्टे) का साथै गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार ७०० पर्यटक अट्ने क्षमता छ । तसर्थ भ्रमण वर्षसँगै दैनिक एक हजार ७०० पर्यटक भित्र्याउने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

भ्रमण वर्षमार्फत पर्यटकीय सुविधायुक्त घरबास (होमस्टे) सर्किटको प्रवर्द्धन गरिने भ्रमण वर्षका संयोजक गुरुङले बताए । “विद्यमान पर्यटकीय केन्द्र र उपजका अतिरिक्त कम्तीमा थप पाँच गन्तव्यको पहिचान, विकास र प्रवर्द्धन गरिनेछ”, उनले भने ।

भ्रमण वर्षमार्फत बन्दीपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटल तथा रेष्टुरेन्टमा थप लगानी बढाउने लक्ष्य लिइएको उनको भनाइ छ । बन्दीपुरलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै यहाँका कला, संस्कृतिको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणमा जोड दिइएको उनले उल्लेख गरे ।

सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको योजना (प्याकेज) तयार गरिनुका साथै सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय सर्किटको प्रवर्द्धन गरिने भ्रमण वर्षका संयोजक वैश गुरुङले जानकारी दिए । उनका अनुसार पर्यटकको उमेर र रुचि अनुसार प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ, गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता बढाउने लक्ष्य लिइएको छ ।

सम्पदा नेपालका अध्यक्ष गुरुङले भने, “यो जीवन्त प्राचीन घरबासको पदमार्ग (सर्किट)को अनुभव हुनेछ । मनोरम दृश्य, उमेर अनुसारको प्याकेज, प्रकृति र संस्कृतिको खोज गर्न, पदमार्गको अनुभव गर्न, भानुभक्तको जन्मस्थल, धार्मिक तथा सांस्कृतिक क्रियाकलापमा सहभागिता, खानाको स्वाद लिनलाई पनि एकपटक बन्दीपुर पुग्नै पर्छ ।”

यहाँको आतिथ्यता, स्वागत, सम्मानका साथै बन्दीपुर तनहुँ जिल्लाको पुरानो सदरमुकाम भएकाले यहाँको इतिहास बुझ्नका लागि आन्तरिक तथा बाह्य पर्यटकलाई उनले बन्दीपुर आउन आग्रह गरे । “विसं २०२५ मा दमौली सारिए पनि सांस्कृतिक सम्पदा र प्राकृतिक मनोरमताले बन्दीपुर प्रसिद्ध छ”, उनले भने ।

बन्दीपुर दमौलीबाट १८ किलोमिटर माथि पर्दछ । दमौलीबाट डुम्रे हुँदै आठ किलोमिटर उकालो यात्रा गरेपछि बन्दीपुर पुगिन्छ । सुन्दरता बोकेको बन्दीपरबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत हिमश्रृङ्खला देखिन्छन् । बन्दीपुर आन्तरिक पर्यटकसँगै विदेशीको पनि रोजाइमा पर्ने गरेको छ ।

यहाँ इटाली, भारतलगायत विभिन्न देशबाट पर्यटक आउने गरेका सम्पदा नेपालका अध्यक्ष गुरुङले जानकारी दिए । बन्दीपुरलाई नेपालमा मात्रै नभएर विश्वमै चिनाउन सकिन्छ भन्ने सोचसहित पर्यटकीय हिसाबले विश्वभर स्थापित गराउन विविध कार्यक्रममार्फत प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिइएको उनको भनाइ छ ।

विसं २०६८ देखि बन्दीपुरमा सामुदायिक घरबास (होमस्टे)को प्रचलन आएको हो । होमस्टेमा रैथाने (स्थानीय) उत्पादनको ‘ब्राण्डिङ’ गर्ने तयारी भइरहेको भ्रमण वर्षका संयोजक गुरुङले उल्लेख गरे । पर्यटकको साङ्ग्रिलाका रूपमा बन्दीपुरलाई स्थापित गर्ने कार्य अगाडि बढाइएको उनले जानकारी दिए ।

यहाँ मूर्त एवं अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । तिनीहरूको लेखाजोखा प्रभावकारी रूपमा हुन सकेको छैन अद्यावधि, अभिलेखीकरण हुन सकेको छैन । तसर्थ सांस्कृतिक सम्पदाहरूको अभिलेखीकरण गर्ने, खोज, अध्ययन तथा अनुसन्धान गर्ने र यसलाई अझ व्यवसायिक बनाउने योजनासहित पहल थालिएको भ्रमण वर्षका संयोजक गुरुङको भनाइ छ ।

उनका अनुसार भ्रमण वर्षअन्तर्गत बन्दीपुर क्षेत्रको पर्यटकीय आकर्षणमा सुधार, मौलिक सडक बत्ती राखिने, पर्यटन व्यवसायमा सुधार, पर्यटन उद्योगको विस्तृत अध्ययन र तथ्याङ्क सङ्कलन गरिने, स्थानीय उत्पादनलाई प्रवर्द्धन र बजार व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

भ्रमण वर्षको अवसरमा जुनसुकै जातजाति, भाषभाषीको संरक्षण र विकास गर्नका लागि अक्षय कोष स्थापना गरिने सम्पदा नेपालका अध्यक्ष गुरुङले जानकारी दिए । प्राचीन नेवारी सम्पदा संरक्षित क्षेत्रका रूपमा पनि बन्दीपुर परिचित रहेको बताउँदै उनले यहाँ साहसिक खेल प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, र्‍याफ्टिङ र ट्रेकिङ ट्रेल तथा रुट रहेका जानकारी दिए । रासस