‘रविले बालेनलाई रास्वपाको सभापति र प्रधानमन्त्रीको उम्मेदवार स्वीकार नगर्ने’


काठमाडौं, ११ पुस । राजनीतिक विश्लेषक हेमन्त सेढाईँले अहिले देशको राष्ट्रिय राजनीति रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिपरी घुमिरहेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै सेढाईँले राजनीतिको केन्द्र रास्वपाका सभापति लामिछाने नै रहेको बताए । बालेन शाह र रवि लामिछानेको भेटवार्तापछि उनीहरुबीच करिब–करिब एजेण्डा टुङ्ग्याउने सहमतिमा पुगेको राजनीतिक विश्लेषक सेढाइँले बताए ।

साथै, रविले अहिले कुनै पनि हालतमा तत्काललाई बालेनलाई सभापति र प्रधानमन्त्रीको उम्मेदवारको हिसाबले पनि स्वीकार नगर्ने उनको दाबी छ । आफू रविको राजनीतिक सल्लाहकार र शुत्रधार रहेको बताउँदै उनले बालेनको अहिले त्यो हैसियत बनिनसकेको दाबी गरे । बालेनलाई सभापति पछाडि बरिष्ठ उपाध्यक्ष अथवा उपसभापति र अर्को निर्वाचनमा चाहिँ प्रधानमन्त्रीको उम्मेदवार बनाएर जान सकिने बताए ।

साथै, जेन–जीले ‘प्रधानमन्त्री बन्नुस्’ भन्दाखेरी बालेन मोबाइल स्वीच अफ गरेर भागेको पनि उनले टिप्पणी गरे । प्रधानमन्त्री बन्ने सुनौलो अवसर बालेनले मिस गरिसकेको उनले बताए ।

रविले बालेनलाई अहिले प्रधानमन्त्रीको उम्मेदवार मानेर अगाडि बढ्न नसकिने र कुलमान घिसिङलाई पनि स्वीकार गर्न नसकिने उनले बताए । कुलमानको भन्दा रविको हाइट वीसऔं गुणामाथि रहेको राजनीतिक विश्लेषक सेढाइँको दाबी छ । सबैले रुचाएको पात्र रवि लामिछाने र क्रमैसँग बालेन र कुलमान रहेको उनको बुझाइ छ । अहिले पहिलो प्राथमिकतामा जनताले हेर्न चाहेको प्रधानमन्त्री रवि नै रहेको उनले बताए ।