काठमाडौं, ११ पुस । रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपाल (नाउपा नेपाल) बीच एकता हुने भएको छ । नाउपा र नाउपाबीच भोलि (पुस १२ गते) एकता कार्यक्रम तय भएको बताइएको छ । रेशम–रञ्जिता श्रीमान–श्रीमती हुन् ।
गत चार महिना अगाडि राजनीतिक यात्राबाट छुट्टिएका उनीहरुबीच पुनर्मिलन हुने भएको हो । आइतबार दिउँसो १ बजे नाउपा नेपालको कार्यालय सिनामंगलमा पार्टी एकता घोषणा कार्यक्रम राखिएको बताइएको छ ।
रेशमले जेलमै रहेको बेलामा नाउपा गठन गरेर श्रीमती रञ्जितालाई अध्यक्ष बनाएका थिए । नाउपाले छोटो समयमा नै संघ, प्रदेश र स्थानीय तहमा चुनाव जित्न सफल भएको थियो । पछिल्लो समय रेशम र रञ्जिताबीच पार्टीको विषयमा विवाद सिर्जना भएको थियो । सो क्रममा रेशमले रञ्जितासँग अलग हुँदै नाउपा नेपाल गठन गरेका थिए । अन्ततः नाउपा नेपाल गठन भएको ४ महिनामै दुई दलको पुनर्मिलन हुन लागेको हो ।




प्रतिक्रिया