बालेन र रविकेन्द्रित पावर-शेयरिङको कुरा भएपछि कुलमान बिच्किए, एक्लै अघि बढ्ने तयारी


काठमाडौं, १२ पुष । नयाँ शक्तिहरु एकजुट हुने भनेर रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच छलफल तथा म्याराथन भेटवार्ता चलिरहेको बेलामा कुलमानले भने अब एक्लै अघि बढ्ने तयारी गरेका छन् । उनले यो बीचमा बालेनसँग अलिक बढि समय वार्ता तथा छलफल गरेका थिए ।

केहीअघि उनले देश बनाउने विषयमा आफूहरु दुवै जना सँगै रहेको भन्दे फेशबुकमा तस्विरसमेत साझा गरेका थिए । योबीचमा सहकारी ठगी प्रकरणमा जेलमा रहेका रास्वपाका सभापति रवि लामिछाने बिगोबराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएपछि तीन नेताबीच पनि सघन छलफल भएको छ ।

बालेनले आफू संसदीय राजनीतिमा सक्रिय हुने भन्दै भेटवार्तालाई तिव्रता दिएपछि यी नेताबीच एकता हुने चर्चा छ । बालेन र रविबीच आज साँझसम्म सहमति हुने भनिएको छ । तर, अहिलेसम्म दुवै नेताबीच भेट भईसकेको छैन । बरु, बालेनले आज विहान कुलमानसँग छलफल गरेका थिए । उक्त छलफलमा उनले रास्वपाबाट आफूलाई आएको प्रस्ताव सुनाएका थिए ।

रास्वपाले बालेनलाई पार्टीमा नै भित्र्याएर दोस्रो वरियता दिने भनेको छ । साथै, २१ फागुनमा हुने निर्वाचनमा बालेनलाई नै प्रधानमन्त्रीको भावी उम्मेदवारको रुपमा प्रोजेक्ट गर्नेपनि रास्वपाको प्रस्ताव छ । यही प्रस्ताव वरिपरि बसेर सहमति हुने भनिएपनि अहिलेसम्म ठोस सहमति भईसकेको छैन।

बालेन र रविले मात्रै पावर शेयरिङ गर्न थालेपछि कुलमान भने बिच्किएका छन् । उनले आफू तेस्रो वरियता बनेर सँगै अघि बढ्न नसक्ने जवाफ दिएको उनीनिकट स्रोतको दाबी छ । कुलमानले रवि र बालेन दुवै नेतासँगको छुट्टाछुट्टै भेटवार्तामा समान हैसियत खोजेको स्रोतको दाबी छ ।

तर, बालेन र रवि भने कुलमानलाई समान हैसियत दिन तयार नभपछि उनी अब एक्लै अघि बढ्ने मनशायमा पुगेका छन् । कुलमानको अगुवाईमा खुलेको उज्यालो नेपाल पार्टीले निर्वाचनलक्षित गतिविधि थालिसकेको छ । आजमात्रै कुलमानले नुवाकोट–काठमाडौं सम्पर्क कार्यालयको उदघाटन गरेका छन् । त्यसमा पनि कुलमानले सम्मानजनक सहकार्यको कुरा उठाएका छन् ।