कांग्रेस केन्द्रीय सदस्यमा निर्मल रिजालको उम्मेदवारी घोषणा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खस–आर्यतर्फबाट केन्द्रीय सदस्य पदमा निर्मल रिजालले उम्मेदवारी घोषणा गरेका छन्।

रिपोर्टर्स क्लब नेपालमा सोमबार पत्रकार सम्मेलन गर्दै रिजालले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन्।

लामो समयदेखि लोकतान्त्रिक आन्दोलन, कांग्रेसको संगठन र सामाजिक सेवामा सक्रिय रहेको बताउँदै रिजालले पार्टीको केन्द्रीय तहमा रहेर योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिने बताए।

उनी २०३६ सालको जनमतसंग्रहदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय थिए । २०४२ सालको सत्याग्रह तथा २०४६ र २०६२/६३ को जनआन्दोलनमा समेत सहभागी भएको उनले बताए। उनी विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा सक्रिय हुँदै कांग्रेसको संगठनमा जोडिएका थिए ।

रिजालले काठमाडौंमा रहेर पाँचथर तथा कोशी प्रदेशबाट उपचारका लागि आउने बिरामीलाई अस्पताल व्यवस्थापन, रगत तथा आर्थिक सहयोग जुटाउन सहयोग गर्दै आएका छन् । विदेशमा निधन भएका नेपालीको शव व्यवस्थापनमा समेत आफूले सहयोग गर्दै आएको उनले बताए ।

पाँचथर–काठमाडौं सम्पर्क समिति तथा कोशी प्रदेश काठमाडौं सम्पर्क समितिको संगठन निर्माणमा भूमिका खेलेको बताउने रिजाल व्यवसायिक क्षेत्रमा समेत संलग्न छन्।

राजनीतिक संघर्ष, विद्यार्थी राजनीतिदेखिको अनुभव, संगठन निर्माण र सामाजिक सेवाबाट प्राप्त अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनले बताए।