काठमाडौं, १२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित जनजागरणसभामा उनले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्ने बताए ।
अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई सङ्कटबाट जोगाउने रहेको उल्लेख गरे । ‘हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ । तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न सबै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिन आवश्यक छ,’– उनले भने ।
देश हाल गम्भीर राजनीतिक, आर्थिक र सामाजिक सङ्कटतर्फ उन्मुख भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यस अवस्थाबाट निकास पाउने लोकतान्त्रिक उपाय स्वच्छ, निष्पक्ष र समयमै हुने निर्वाचन नै भएको बताए । जनताको जनादेशमार्फत बलियो नेतृत्व स्थापित नगरेसम्म राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार नहुने उनको भनाइ थियो ।




प्रतिक्रिया