काठमाडौं, १२ पुष । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने दिन नजिकएसँगै विभिन्न दलहरुबीच सहकार्य गर्नेगरि छलफल चलेको छ । जेन-जी आन्दोलनपछि जन्मिएका र केही पूराना दलबीच पनि चुनावमा सहकार्य गर्नेबारे सार्थक बहस तथा छलफल भएको छ । उनीहरुले सकेसम्म समानुपातिकतर्फ नै सबैलाई समेटेर जानेगरि सहमति गरेका छन् ।
प्रत्यक्षतर्फ तालमेल गर्ने आजको छलफलमा सहभागी विभिन्न डेढ दर्जनभन्दा बढि दलका नेताहरुबीच समझदारी बनेको छ । सबै दललाई मिलाएर लैजाने विषयमा कार्यदल बनाउनेसमेत सहमति भएको बताईन्छ ।
आज लाजिम्पाटको लि हिमालय होटेलमा बसेको ६ घण्टा लामो संयुक्त भेला तथा छलफलमा यस्तो समझदारी बनेको आम जनता पार्टीका एक नेताले जानकारी दिए । ती नेताकाअनुसार भोलिबाट सुरु हुने समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरूको बन्दसूची पेस गर्दा सबै पक्षलाई समेटेर पेस गर्ने सहमति भएको छ । यस्तै, प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रमा तालमेल गर्ने समझदारी बनेको छ । अहिले समन्वयकारी भूमिकामा पत्रकार ऋषि धमलालाई राखिएको छ ।
आजको छलफलमा आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह, समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनाल, जनादेश पार्टीका रमण कुमार कर्णले सबै नयाँ मिलेर जानुपर्ने धारणा राखेका थिए । छलफलमा नेपाली जनता दलका कार्यकारी अध्यक्ष नवराज सुवेदी, नागरिक बचाउ दलका माधव खतिवडा, जय मातृभूमि पार्टीका महासचिव गोविन्द गिरी, जनता लोकतान्त्रिक पार्टीका अध्यक्ष अशोक कुमार मण्डल, समावेशी लोकतान्त्रिक पार्टीका संरक्षक सुनिलबाबु पन्त, प्रगतिशील लोकतान्त्रिक पार्टीका डा. घमान सिंह गुरुङ, सर्वोदय नागरिक पार्टीको अध्यक्ष गणेशकुमार मण्डल, आवाज पार्टीका डा. सुन्दर सिंह बोहोरा, अभियन्ता टेकबहादुर विश्वकर्मालगायत सहभागी थिए ।





प्रतिक्रिया