बालेन, रवि र कुलमानबीच निर्णायक वार्ता जारी


काठमाडौं, १२ पुष । काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपाका सभापति रवि लामिछानेबीच आज हुने भनिएको सहमति अहिलेसम्म हुन सकेको छैन । बरु, आज दिनभरिजसो बालेन उज्यालो नेपाल पार्टीका संरक्षक तथा उर्जामन्त्री कुलमान घिसिङसँग सघन सम्वादमा व्यस्त भए । कुलमानले पनि आफ्नो पार्टीको फोरममार्फत रास्वपासँग सहकार्य हुन नसक्ने संकेत गरे । उनले रास्वपाले रणनीतिक कदम चालेर आफूहरुलाई अलमल्याउन खोजेको पनि गुनासो पोखेका थिए ।

२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको लागि भोलिबाट समानुपातिकतर्फ बन्दसूचीको नाम बुझाउनुपर्ने भएकोले अहिले पूराना दलहरुलाई समेत चटारो छ । नयाँ दलहरुलाई पनि भ्याईनभ्याई छ । यस्तो बेलामा रवि, बालेन र कुलमानबीच सहकार्यको लागि सघन छलफल जारी छ । बालेनले एकाएक संसदीय राजनीतिमा आउनेगरि सक्रियता देखाएपछि राजनीतिक मोहालसमेत तातिएको छ ।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा घोषणा गरेर जाने विषयमा सहमति जनाईसकेको छ । यस्तै, बालेन रास्वपामा रविपछिको वरियतामा रहनेपनि तय भएको भनिएको छ । तर, कुलमानको पदीय व्यवस्थापनको विषयमा ठोस सहमति नहुँदा भने उनी ब्याक हुन खोजेका छन् ।

कुलमानले रास्वपाले आफूहरुको अस्तित्व नै समाप्त पार्न खोजेको भन्दै बालेनसँग छुट्टै छलफल अघि बढाएका थिए । सुरुमा बालेन र कुलमान छलफलमा बसेका थिए । बालुवारको एक निजी घरमा जारी वार्तामा अहिले केहीबेर अघि रविपनि यो छलफलमा सरिक भएका छन् । उनीहरु आज राति अबेरसम्म पनि एउटा निश्कर्षमा पुग्नेगरि छलफलमा व्यस्त रहेको बताईन्छ । बालेनको टिम र रास्वपाबीच भने शक्ति बाँडफाँडको विषयमा समेत एककिसिमको समझदारी भइसकेको दाबी गरिएको छ ।