काठमाडौं, १३ पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले जेनजी आन्दोलनपछि अघिल्लो निर्वाचनको जनादेश गुमिसकेकोले अब फेरि जनताको बीचमा गएर जनादेश लिएर आउनुपर्ने बताएका छन् । उनले प्रतिनिधिसभा पुनःस्थापना नभएर निर्वाचनबाट मात्रै निकास निस्किने भनेर कांग्रेसले निर्णय गरिसकेको बताए ।
तर, सरकारले निर्वाचनको वातावरण बनाउनुपर्नेमा उनको जोड छ । हिजो (शनिबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सरकारले निष्पक्ष निर्वाचन गराउनुपर्ने बताए । उनले भने,‘हामी निर्वाचनमा जान तयार छौं । प्रधानमन्त्रीले निष्पक्ष निर्वाचनको ग्यारेन्टी गर्नुपर्छ ।’
उनले महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई चुनाव लड्न नै सुझाव दिए । उनले भने,‘म महामन्त्रीहरुलाई भन्न चाहन्छु, तपाईहरुप्रति आशा छ, अहिले पार्टीले सजिलो परिस्थितिमा चुनावमा भाग लिईरहेको छैन, अप्ठ्यारो छ । कांग्रेस गज्जब छ, ०७४ र ०६४ भन्दापनि कठिनाई छ, यस्तो बेलामा चुनाव लड्दाखेरि महामन्त्रीजस्तो जसलाई लामो समयसम्म पार्टीको नेतृत्व लिनुहुन्छ भनेर आशा गरिएको छ, उहाँहरु चुनावबाट भाग्नुहुन्न, महामन्त्रीहरुको निर्णयलाई पनि सम्मान गर्छु । महामन्त्रीले नै चुनाव नलडेपछि उम्मेदवारलाई र पार्टीका साथीहरुलाई अलि अलि निराशा होला ।’ महामन्त्रीद्धयले चुनाव नलड्दा पार्टीलाई मनोवैज्ञानिक रुपमा पनि असर पर्ने उनले खतरा औंल्याए ।




प्रतिक्रिया