जनताले वैकल्पिक शक्ति होइन, मूलधारको राजनीति खोजिरहेका छन्ः पूर्व महान्यायाधिवक्ता संग्रौला (भिडिओसहित)


काठमाडौं, १४ पुस । वरिष्ठ अधिवक्ता एवं पूर्व महान्यायाधिवक्ता डा.युवराज संग्रौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहबीच भएको सम्झौतालाई रोमाञ्चित रुपमा हेर्न आवश्यक नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राजनीतिमा विचार मिल्नेहरुसँग एकता हुनुलाई आश्चर्य मान्न नहुने बताएका हुन् ।

‘उहाँहरुको विचार मिलेर एकता भयो होला । यसलाई यतिधेरै रोमाञ्चित रुपमा हेर्नुपर्ने आवश्यक छैन । विचारको आधारमा उहाँहरुको एकता भएको हो भने त्यसलाई स्वाभाविक लिनुपर्छ । सत्ताको लागि हो भने जनता प्राथमिक भएन । सत्ताका लागि त्यस किसिमका गठबन्धन खराब हुन् । पदको प्रधानतामा देश अगाडि गयो भने डेमाक्रेशी स्थिर हुन सक्दैन । यस अर्थमा जनताले मूल्याङ्कन गर्लान् भन्ने मलाई लाग्छ,’– उनले भने ।

उनले अहिले देशले विचार खोजिरहेको पनि बताए । विचारको प्रधानतामा नेपाली जनताले आशा गरेको हो भने नेपालको रोजगार निर्माण नगर्ने अर्थतन्त्रलाई सम्बोधन गरिनुपर्ने, देशको शिक्षालाई वैज्ञानिककरण गरिनुपर्ने, विश्वका देशहरुसँगको सन्तुलन मिलाउन सक्ने र जनतालाई माया गर्ने विचार अहिलेको आवश्यक रहेको र नेपालको राजनीति उसैले लिएर जाने उनले बताए । अब पनि विचार सही ढंगबाट नआएको खण्डमा आगामी दिनमा हुने भन्दा ठूलो आन्दोलन हुने उनको दाबी छ ।

साथै, नेपाली जनताले वैकल्पिक शक्ति नखोजेर मूलधारको राजनीति खोजिरहेको उनले दाबी छ । अहिलेका ठूला दलहरु मूलधार हुन् भन्ने कुरामा कोही पनि भ्रममा पर्न नहुने उनले बताए । उनले देशलाई विचारले नेतृत्व गर्न सक्ने दल नै अबको मूलधार हुने बताए ।