लोकतन्त्रविरोधी तत्वहरुले जेन-जी आन्दोलन हाइज्याक गरेः पूर्व गृहमन्त्री लेखक


काठमाडौं, १४ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन लोकतन्त्रविरोधी तत्वहरुले हाइज्याक गरेको आरोप लगाएका छन् । गत भदौ २३ र २४ गतेको घटना छानविन गर्नका लागि गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको जाँचबुझ आयोगलाई बयान दिँदै उनले प्रदर्शनमा व्यापक घुसपैठ भएको बताएका छन् ।

‘विहान माइतीघर मण्डलाबाट प्रदर्शन सुरु भयो । कयौं विद्यार्थी विद्यालय पोषाकमा नै थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट प्राप्त जानकारीअनुसार शान्तिपूर्ण आन्दोलन हुन्छ भन्ने विश्वास आयोजकले दिलाएका थिए । तर, प्रदर्शनमा व्यापक घुसपैठ भयो । जेन–जीको प्रर्दशनलाई लोकतन्त्रविरोधी तत्वहरुले हाइज्याक गरे,’– उनले बयानका क्रममा भनेका छन् ।

संसद् भवन, नयाँ बानेश्वर परिसरमा व्यापक हिंसात्मक घटना भएपछि जेन–जी अगुवाहरुले सामाजिक सञ्जालमार्फत ‘हाम्रो आन्दोलन सफल भएको छ । यसलाई हाइज्याक गरेर हिंसात्मक बनाइँदै छ । साथीहरु आफ्नो घर फर्किनुस्’ भनेको पनि पूर्व गृहमन्त्री लेखकले आयोगलाई स्मरण गराएका छन् ।

धमिलो पानीमा माछा मार्न चाहने तत्वले जेन–जीको भावनामाथि खेलेर सुनियोजित रुपमा प्रदर्शनलाई हिंसात्मक बनाएको पूर्व गृहमन्त्री लेखकले बयानका क्रममा उल्लेख गरेका छन् । पूर्व गृहमन्त्री लेखकले राजनीतिक नैतिकता सबैभन्दा मूल्यवान विषय रहेको स्मरण गराउँदै आफूले सो क्रममा नैतिकताको आधारमा राजीनामा दिएको पनि बताएका छन् ।

उनले प्रर्दशनमा गृहमन्त्रीले बल प्रयोग गर्नेबारे कुनै लिखित र मौखिक आदेश दिने प्रचलन नरहेको पनि बताएका छन् । पूर्व गृहमन्त्री लेखकले गृहमन्त्रीलाई कुनै पनि कानूनमा बल प्रयोग गर्ने सम्बन्धमा निर्देशन दिने अधिकार नदिएको पनि बताएका छन् ।