कुलमान फकाउने अन्तिम प्रयासमा रवि-बालेन, छलफलमा जुटे


काठमाडौं, १४ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय घर्किँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ऊर्जामन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग छलफलमा जुटेका छन् ।

बन्द सूची बुझाउने आज अन्तिम दिने हो । कुलमान वार्तामा रहँदा उज्यालो नेपाल पार्टीका नेताहरु भने निर्वाचन आयोगमा पुगेका छन् । निस्सा लिएपछि आज अबेरसम्म पनि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउन पाइने बताइएको छ ।

जेन–जी अगुवाको छवि बनाएका हामी नेपाल संस्थाका अध्यक्ष सुदन गुरुङको जोडबलमा बालेन, रवि र कुलमानबीच वार्ता सम्भव भएको बताइएको छ । हाल कमलपोखरीस्थिति रास्वपा नेता असीम शाहको घरमा बैठक जारी रहेको बताइएको छ । बैठकमा गुरुङ पनि सहभागी रहेको स्रोतको दाबी छ ।

रास्वपा सभापति लामिछाने पार्टीको केन्द्रीय समिति बैठक सकेर वार्ताका लागि त्यहाँ गएका हुन् । यसअघि बालेन, कुलमान र रविबीच एकताको लागि लामो कसरत भएको थियो । एजेण्डामा सहमत हुन नसकेपछि कुलमान एकता प्रक्रियाबाट बाहिरिएका थिए ।