काठमाडौं, १४ पुष । पूर्व प्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रमुख संरक्षक डा. बाबुराम भट्टराईले आफूले बालेन शाह, रवि लामिछानेलगायतलाई एकताबद्ध हुन सुझाव दिएको बताएका छन् । तर, उनले उनीहरुबीच प्रष्ट नीति, योजना र कार्यक्रमको बारेमा बहस हुनुपर्ने आवश्यकता औंल्याईदिएका छन् ।
आज (सोमबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले रवि, बालेन र कुलमानहरु एक ठाउँमा आउनु सकारात्मक भएको बताए । उनले नेपालमा वैकल्पिक राजनीति दुईदेखि तीन धार हुनसक्ने बताए ।
उनले रवि, बालेन र कुलमानहरुको एउटा शक्ति बनेर उदय हुने दाबी गरे । उनले कांग्रेस, एमाले र नेकपाका नेताहरुलाई स सम्मान बिदाई गरिनुपर्ने बताए । उनले नेपाली राजनीतिमा देशको लागि शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले पनि योगदान गरेको भएपनि अहिले समयानुकुल रुपान्तरण गर्न नसकेको टिप्पणी गरे । उनले तीनै जना नेतालाई आराम गर्न सुझाव दिए ।
उनले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काममा भने सरकारबाट अलमल भएको गुनासो पोखे । भ्रष्टाचार नियन्त्रणदेखि जेनजी आन्दोलनमा भएको दमनको बारेमा दमनकारीलाई कारबाही गर्नेलगायतको विषयमा काम नभएको उनको गुनासो थियो । उनले पूरानै ढंगको चुनाव गर्दा जेनजी आन्दोलनको मर्मविपरित हुने बताए ।
उनले वर्तमान सरकारले चुनाव गराउन सक्नुपर्ने भन्दै चुनावको विकल्प नभएको बताए । उनले आन्दोलनको म्याण्डेट सबै कुराभन्दा माथि हुने भन्दै फेरि संसद् पुनःस्थापनातर्फ जान नहुने बताए । उनले दलहरु चुनावमा नै जानुपर्ने बताए । उनले निर्वाचन प्रणालीमा सुधार गरिनुपर्ने भन्दै सरकारलाई सुझाव दिए । उनले चुनावको लागि सबैले साथ दिनुपर्ने र समस्या देखिएको ठाउँमा पनि सबैले भूमिका खेल्नुपर्ने बताए । उनले सबै संस्थाहरुले साथ र सहयोग गर्दा तोकिएकै मितिमा चुनाव गराउनुपर्ने बताए ।
उनले नेपालमा अब राजसंस्था फर्कने कुनै सम्भावना नभएको जिकिर गरे । उनले ऐतिहासिक रुपमा पूर्वराजाहरुले खेलेको भूमिकाको आफूहरुले कदर गरेको बताए । उनले अब युग बदलिएकोले पूर्वराजा ज्ञानेन्द्रले सम्मानपूर्वक बस्ने र लोकतान्त्रिक गणतन्त्रलाई साथ दिँदा नै देश र उनलाई पनि हित हुने बताए ।




प्रतिक्रिया