काठमाडौं, १५ पुस । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले कांग्रेस, एमाले र माओवादी (नेपाली कम्युनिष्ट पार्टी) र त्यसका नेताहरु उमेर, अवस्था र चिन्तनले वृद्ध भइसकेको टिप्पणी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले ती दलहरु र ती दलका नेताहरु उमेर, अवस्था र चिन्तनले वृद्ध भइसकेकाले अब वैकल्पिक शक्तिको आवश्यकता रहेको बताएका हुन् ।
‘कांग्रेस, एमाले, माओवादीले आफ्नै ऐतिहासिक काम पूरा गरे । उनीहरुलाई धन्यवाद दिनुपर्छ । अब उमेर, अवस्था र चिन्तनले पनि उहाँहरुलाई दिँदैन । ती पार्टीहरु वृद्ध जस्ता बनिसके । त्यस कारणले वैकल्पिक शक्ति आउन जरुरी छ,’– उनले भने ।
साथै, उनले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ मिलेर बनेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफूले वैचारिक रुपमा सहयोग गर्ने पनि डा.भट्टराईले बताए । राजनीतिबाट औपचारिक रुपमा सन्यास लिइसकेको बताउँदै उनले अब आफू रास्वपामा गएर नेता भने नबन्ने उनले बताए ।
साथै, वैकल्पिक शक्तिहरुले संसद्मा गएर प्रत्यक्ष कार्यकारीको एजेण्डालाई उजागर गरेर संविधान संशोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले आफूले विगतदेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद्को पक्षमा आवाज उठाउँदै आएको बताए । आजको आवश्यकता प्रत्यक्ष निर्वाचित कार्यकारी रहेको उनको भनाइ छ । वैकल्पिक शक्तिहरुले प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा छाड्न नहुने बताए ।




प्रतिक्रिया