चिसोमा चटाइ र घूरको भर


महोत्तरी, १६ पुस । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको जाडोले अहिले महोत्तरीसहित मधेसको जनजीवन कष्टकर भएको छ । गरिब बस्तीमा घूर तापेर चिसो धपाउने प्रयास जारी छ ।

पुस ३ गतेदेखि शीतलहर सुरु भएको महोत्तरीलगायत मधेसका अधिकांश ठाउँमा बढेको शीतलहरले जाडो बढ्दै गएपछि बस्तीमा जताततै ‘घूर’मा चारैतिर बसेर तातिएको महसुस लिनु गरिबहरूको नियति नै बनेको छ । “के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ ? के लायौ ? सोध्न आएनन्, कमसेकम दाउरासम्म पाए पनि रापिलो आगो त ताप्न पाइन्थ्यो”, लोहारपट्टी–४ लेउरीटोल मुसहरी बस्तीकी ५० वर्षीया श्रीवती सदा भन्छन्, “यही घूर तापेर जाडो काट्नु छ ।”

जिल्लामा खासगरी मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारसहितका जाति समुदाय गरिबी, अशिक्षा र कुपोषणको सिकार बनेका छन् । प्रत्येक वर्ष जाडो लागेपछि यी बस्तीको बिचल्ली सुरु हुन्छ । न अन्न राख्ने कोठी न ओढ्ने, ओछ्याउने र जिउ ढाक्ने न्यानो लुगा ।

गुजुमुज्ज पराले छानाका यी बस्तीमा जाडो छल्ने यही पचपची धुवाँ निस्कने ‘घूर’ र ओढ्न÷ओछ्याउन चटाइ (परालको लुइँठो बटारेर बनाइएको मोटो गुन्द्री, स्थानीय भाषामा यसलाई गोनर पनि भनिन्छ) को भर । “भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो”, एकडारा–३ भटौलियाको मुसहर बस्तीका छठु सदा भन्छन्, “राति जाडोले निद्रा नलाग्दा फेरि उही ‘घूर’ को सहारा ।”

रात काटन ‘घूर’ र ‘चटाइ’को सहारा लिएका यी गरिब उज्यालो हुँदा पारिलो घामको आस गर्छन् । तर पछिल्ला करिब दुई सातायता राम्ररी घाम नदेखिँदा गरिब बस्तीको बिजोग झनै बढेको छ ।

“हजुर, हाम्रो ठण्डी (चिसो, जाडो) छल्ने यै (यही) सहारा हो”, लोहारपट्टी–४ खुट्टा उत्तरबारीटोलका मनु सदा भन्छन्, “भगवान्को यस्तै खटन छ ।” यो लामो शीतलहरले सुत्न, बस्नमात्र नभएर गरिब बस्तीमा खानपिनको अभाव पनि बढ्दै गएको भङ्गाहा–५ कर्पुरगञ्जको बाँतरटोलका ६० वर्षीय रामजुलुम बाँतर बताउँछन् । “बनबिुतो गरेर जीवन धान्नु पर्नेलाई यो शीतलहरले काममा निस्कन दिएको छैन, घरमा भएको अन्नपात सकिदै गएपछि अब भोकभोकै पर्ने दिन आउँदैछन्”, उनी भन्छन् ।

महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा मुसहर जातिको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचाङ्कका दृष्टिले पिछडिएका मुसहरजस्तै बाँतर पनि हुन् । दुवै जातिको रीतिथिति र बसउठ समान नै देखिन्छ । तर जिल्लामा बाँतर भने भङ्गाहा नगरपालिका क्षेत्रमा मात्र छन् । रासस