कमलामाई (सिन्धुली), १६ पुस । सिन्धुली, रामेछाप र काभ्रेपलाञ्चोकका सुरक्षा समितिका पदाधिकारीहरुको संयुक्त बैठकले एकापसमा साझेदारी गरी प्रभावकारी सुरक्षा व्यवस्था कायम गर्ने निर्णय गरेको छ ।
सिन्धुलीको मुल्कोटमा आज सम्पन्न अन्तर सुरक्षा समितिको संयुक्त बैठकले शान्ति सुरक्षा र अपराध नियन्त्रण, अन्तर जिल्लासँग सम्बन्धित गतिविधि, निर्वाचन सुरक्षा, सडक सुरक्षा, विपद् प्रतिकार्य तथा व्यवस्थापन, सेवा प्रवाह र विकास निर्माणमा सहजीकरणसहित समसामयिक विषययवस्तु र साझा चासोका विषयसँग सम्बन्धित छलफल गरेको छ ।
उक्त छलफलले शान्ति सुरक्षाको स्थिति एवं सु–व्यवस्था कायम गर्न सेवा प्रवाह तथा सु–शासनको अवस्था अभिवृद्धि, अपराध नियन्त्रण, सामाजिक विकृति, विसङ्गति तथा गैरकानुनी क्रियाकलापलाई न्यूनीकरण र नियन्त्रण गर्न आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।
जिल्लाहरूको समग्र शान्ति सुरक्षा, अपराध नियन्त्रण एवं आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि जिल्लाका सीमा क्षेत्रहरूमा संयुक्त गस्ती पट्रोलिङ सुरक्षा चेकजाँचलगायतका कार्यहरू आवश्यकताअनुसार नियमित र आकस्मिक रुपमा गर्ने एंव निर्वाचन सुरक्षामा प्रभाव पार्न सक्ने विभिन्न पक्ष र तिनका अवाञ्छित गतिविधिहरूको सूक्ष्म निगरानी गरी आवश्यकताअनुसार अन्तर जिल्ला समन्वयलाई नियमितता दिने बैठकले निर्णय गरेको छ ।
देशका विभिन्न कारागारहरूबाट फरार कैदीबन्दीहरु र अवैध हात–हतियारको खोजी तथा नियन्त्रणका लागि सूचनाको आदान–प्रदान एवं आवश्यक सुरक्षा प्रबन्ध गर्ने, संविधान एवं व्यवस्थाविरोधी समूह, जातीय क्षेत्रीय एवं धार्मिक समूहका अन्तर–जिल्ला गतिविधि सम्बन्धमा आवश्यक सूचना समन्वय र गतिविधिहरुको सुक्ष्म निगरानी गरी सुरक्षा सक्रियता बढाउने बैठकको निर्णय छ ।
विभिन्न दुष्प्रचार, अवैध तथा जबर्जस्ती चन्दा सङ्कलन, सर्वसाधारणलाई धम्क्याउने र विविध प्रलोभन÷प्रभावमा पार्नेलगायतका आराजक कार्य नियन्त्रण गर्न अन्तर जिल्ला समन्वयलाई प्रभावकारी बनाउने निर्णय गरिएको छ ।
लागसऔषध कारोबारी तथा दुव्र्यसनीलाई नियन्त्रण तथा निरुत्साहन गर्न जिल्लाका प्रवेश÷प्रस्थान विन्दुहरुमा चेकजाँचमा कडाइ गर्ने साथै एकअर्का जिल्ला बिचमा सूचनाको आदानप्रदान गर्नेसमेत बैठकले निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीपेन्द्र पौडेलले जानकारी दिए ।
उनका अनुसार बिपी राजमार्ग र पुष्पलाल मध्यपहाडी लोकमार्गको वर्तमान अवस्था, सवारी आवागमनको चाप एवं अत्याधिक गतिलगायतका कारण सम्भावित सडक दुर्घटनाको जोखिम रहेका विभिन्न स्थानहरुको पहिचान गरी सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रुवाहक सवारीसाधनको नियमित चेकजाँच, दुर्घटनापश्चात्को उद्धार कार्य र सवारी आवागमन व्यवस्थापनका लागि आपसी समन्वयलाई प्रभावकारी बनाउने निर्णय भएको छ ।
त्यसैगरी, यात्रुवाहक सार्वजनिक सवारीसाधनको हकमा राजमार्गमा आवागमनको निर्धारित समयसीमालाई निरन्तरता दिनुका साथै विकास निर्माण कार्यका लागि राजमार्गमा ठूला मालबाहक सवारीसाधन सञ्चालन सम्बन्धमा सहजीकरण गर्ने निर्णय भएको छ ।
विपद्जन्य घटनाहरुको तत्काल खोज, उद्धार प्रतिकार्यलगायतमा अन्तर–जिल्ला स्रोतसाधनको प्रयोगलाई निरन्तरता दिई विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउने र साझा चासो तथा सरोकारका विषयमा एकापसमा असल अभ्यासहरुको नियमित आदानप्रदान गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । अन्तर–जिल्ला सुरक्षा समन्वय बैठक आवश्यकताअनुसार बर्सेनि हुँदै आएको छ । रासस




प्रतिक्रिया