बुद्ध जन्मस्थलबाट युवाहरूले सुरू गरे राष्ट्रिय पुनर्जागरण अभियान


लुम्बिनी, १६ पुस । देशलाई राजनीतिक अस्थिरता, निराशा र हिंसाको चपेटाबाट मुक्त गराउने उद्देश्यका साथ युवाहरूले बुद्ध जन्मस्थल लुम्बिनीबाट ‘राष्ट्रिय पुनर्जागरण अभियान’ सुरु गरेका छन् । शान्तिपूर्ण परिवर्तनको सन्देश लिएर देशका कुना–काप्चामा पुग्ने लक्ष्यसहित सोबारदेखि बुद्ध जन्मभूमि लुम्बिनीबाट अभियानको प्रारम्भ गरिएको हो ।

जेनजी आन्दोलनपछिको परिस्थितिमा युवापुस्तालाई हिंसामुक्त, विवेकपूर्ण र शान्तिपूर्ण राजनीतितर्फ आकर्षित गर्न युवाहरूले गठन गरेको ‘द फ्युचर्स लिडरसिप नेटवर्क नेपाल’को पहलमा अभियान थालनी गरिएको हो । नकारात्मक र हिंसा उन्मुख राजनीतिक संस्कृतिलाई बदल्दै आशा, सहकार्य र सहअस्तित्वको मार्गतर्फ समाजलाई डो¥याउने अभियानको मूल लक्ष्य रहेको आयोजकहरूले बताएका छन् ।

अभियन्ता निगम हुमागाईं, लेखक तथा पत्रकार घनश्याम खड्का, जेनजी अभियन्ता सञ्जीव सापकोटा, युवा नेत्री प्रकृति ढकाल र मीनाकुमारी ठाकुर, अभियन्ता इन्द्रजित साफी, जलस्रोतविद् देवेश बेलबासे, अधिवक्ता आयुसा कडेल, स्थानीय युवा रतन आचार्यलगायत, जेनजी तथा जेन–वाई पुस्ताका युवाहरूको समूह आज बिहान लुम्बिनी पुगेर बुद्धको दर्शन गर्दै पुनर्जागरण अभियानमा जुटेको थियो ।

लुम्बिनीपछि टोली रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मणिग्राममा आयोजित अन्तरक्रिया कार्यक्रममा फ्युचर्स लिडरसिप नेटवर्क नेपालका अध्यक्ष निगम हुमगाईंले देश गम्भीर राजनीतिक सङ्कटमा फसेको अवस्थामा युवाको आक्रोश र निराशालाई दुरुपयोग गरेर पुनः हिंसा भड्काउने खतरा बढ्दै गएको बताए । त्यसैले समाजलाई सचेत गराउँदै पुनर्जागरणको लहर गाउँ–बस्तीमा पु¥याउने अभियान सुरु गरिएको उनले स्पष्ट पारे ।

“हामी देशका हरेक बस्तीमा पुगेर युवालाई निराशाबाट आशातिर र आक्रोशबाट सुझबुझतर्फ डो¥याउनेछौँ”, हुमागाईंले भने, “तीन करोड नेपालीले देश बनाउने साझा सङ्कल्प गरेर आपसी तिक्तता मेट्नु आजको आवश्यकता हो ।” उनले राज्यले युवालाई उद्यमशीलता र रोजगारीको अवसर दिनुपर्नेमा जोड दिँदै विदेशमा रहेका नेपालीको योगदान र बाध्यतालाई बेवास्ता गर्न नहुने बताए ।

कार्यक्रममा माइण्डफुल लिभिङ अभियानका प्रवर्तक तथा लेखक–पत्रकार घनश्याम खड्काले हिंसाले सत्ता परिवर्तन गर्न सक्ला, तर संस्कार परिवर्तन गर्न नसक्ने बताए । शान्ति र विकासका लागि पुनर्जागरण नै एक मात्र विकल्प भएको उनले बताए । “हामीले व्यवस्था बदल्यौँ, तर भ्रष्टाचार र कुशासन बदल्न सकेनौँ”, उनले भने, “व्यक्ति बदलिए पनि प्रवृत्ति उस्तै रहँदा अवस्था सुध्रिँदैन, त्यसैले व्यवस्था बदल्नुभन्दा पहिले मनको अवस्था बदल्न जरुरी छ ।”

गत भदौ २४ को घटनामा हात गुमाएका जेनजी अभियन्ता सञ्जीव सापकोटाले देश परिवर्तनको यात्रामा आफू राष्ट्रिय पुनर्जागरण अभियानमा जोडिएको बताए । “देश बदल्ने क्रममा मैले एउटा हात गुमाएँ”, उनले भावुक हुँदै भने, “अब मलाई तपाईंहरूको अर्को हात चाहिएको छ, त्यो भनेको सहकार्य र सहअस्तित्व हो ।”

त्यस्तै जेनजी नेत्री प्रकृति ढकालले देशलाई सङ्कटबाट जोगाउन हिंसामुक्त र विवेकपूर्ण सहकार्य अपरिहार्य रहेको बताइन् । उनले आन्दोलन सकियो भन्ने भ्रम हुनसक्छ, तर आन्दोलन जारी रहेको बताइन् ।

जलस्रोतविद् इन्जिनियर देवेश बेलबासेले राजनीति गर्नेहरू मात्र होइन, आफ्नो क्षेत्रमा सिर्जनशील र कर्मशील सबै व्यक्ति नेता भएको धारणा राखे । “हामी केही गर्न सक्दैनौँ भन्ने हारको मानसिकता तोड्नै पर्छ”, उनले भने, “यही पुनर्जागरणको आत्मा हो ।”

अभियन्ता इन्द्रजित साफीले हिमाल, पहाड र तराईका बासिन्दालाई भावना र विचारको एउटै मालामा गाँसिन आग्रह गर्दै समान अस्तित्व र सहकार्यमा जोड दिए । जेनजी नेत्री मीनाकुमारी ठाकुरले महिला सशक्तीकरण र लैंगिक समानतालाई पुनर्जागरण अभियानको अभिन्न रहेको बताइन् ।

कार्यक्रममा स्थानीय युवा सुरज पोखरेल, शङ्कर भुसाललगायतले पनि अभियानको महत्वबारे धारणा राखेको थियो । ‘नेपाल– गौरवपूर्ण इतिहास, वर्तमान र भविष्य’ विषयमा केन्द्रित यो अभियान प्रारम्भमा तराई र त्यसपछि पहाड तथा हिमाली जिल्लाहरूमा विस्तार हुँदै जाने फ्युचर्स लिडरसिप नेटवर्क नेपालले जनाएको छ । रासस