यो सरकारले ठूलो नीतिगत फड्को मार्न र कानून बदल्न सक्दैनः प्रधानमन्त्री कार्की


काठमाडौं, १६ पुस । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले ठूलो राजनीतिक फड्को मार्न नसक्ने बताएकी छन् । शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारलाई कानून बदल्नेसमेत अधिकार नरहेको बताईन् । उनले वर्तमान सरकार जेन–जी आन्दोलनको जगमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त कार्यादेशअनुसार बनेको बताईन् ।

‘यहाँहरुलाई हाम्रो सीमाबारे पनि जानकारी नै होला । यो सरकार ठूलो नीतिगत फड्को मार्न आएको होइन । कानून बदल्ने अधिकारसमेत यो सरकारलाई छैन । जेन–जी आन्दोलनको जगमा बनेको यस सरकारले राष्ट्रपतिज्यूबाट प्राप्त कार्यादेशअनुसार सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वको मार्गचित्रमा काम गरिरहेको छ,’– उनले भनिन् ।

उनले नागरिकको जीविकामा सुधार हुन सकेन र नागरिकप्रति न्यायपूर्ण व्यवहार गरेका छौँ भन्ने कुराको पूर्ण अनुभूति दिलाउन सकिएन भने असन्तुष्टि कायमै रहने बताईन् ।

उनले नागरिक असन्तुष्टि र अन्यायको अनुभूति नै द्वन्द्व, अराजकता र अशान्तिको मूल कारक रहेको पनि बताईन् । उनले संवेदनशीलतालाई मनन गरी सरकार, राजनीतिक दलहरु, नागरिक समाज र युवा पुस्ताको समेत सहभागितामा शान्ति, स्थायित्व र समृद्धिका लागि सामूहिक पहल गर्नु प्रशंसनीय रहेको बताईन् ।