काठमाडौं, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पार्टीको नियमित महाधिवेशन हुने निश्चित भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नियमित महाधिवेशन हुने निश्चित भएपछि विशेष महाधिवेशनको ढोका स्वभाविक रुपमा खुलेको बताएका हुन् ।
पार्टीको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेर विशेष महाधिवेशनको माग गरेको खण्डमा बढीमा ३ महिनाभित्र महाधिवेशन बोलाउन अनिवार्य रहेको उनले बताए । विशेष महाधिवेशन पक्षधरहरुले हस्ताक्षर गरेर बुझाएको पनि पुस २८ गते ३ महिना पुग्ने उनले बताए । विधानले विशेष महाधिवेशन अनिवार्य गरेको उनले बताए ।
नेता आचार्यले विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउन सक्ने बताए । यदि केन्द्रीय समितिले विशेष महाधिवेशन बोलाउन नचाहेको खण्डमा महामन्त्रीहरुको मातहतमा रहेको केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउन सक्ने उनले बताए । महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा विशेष महाधिवेशन बोलाउने तयारीमा रहेको आफूहरुले थाहा पाएको पनि उनले बताए ।
‘कि त विशेष महाधिवेशन केन्द्रीय समितिले बोलाउनुपर्छ । केन्द्रीय कार्यसमितिले बोलान आवश्यक ठानेन भने केन्द्रीय कार्यालयले बोलाउँछ । केन्द्रीय कार्यालय भन्नाले यो महामन्त्रीको मातहत हुन्छ । त्यसले गर्दाखेरी महामन्त्रीहरुले बोलाउन सक्नुहुन्छ । महामन्त्री दुवै जना बोलाउनका लागि तयारी अवस्थामा रहेको हामीले थाहा पाएका छौं,’– उनले भने ।




प्रतिक्रिया