काठमाडौं, १७ पुस । धरान उपमहानगरपालिका प्रमुख एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी फागुन २१ गतेको निर्वाचन पछाडिको प्रधानमन्त्री आफू रहेको दाबी गरेका छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेताहरु कुलमान घिसिङ र बालेन्द्र शाहको जमानत जफत गराएर आफू प्रधानमन्त्री बन्ने बताएका हुन् । नेता साम्पाङले नेपालीले आफूलाई प्रधानमन्त्री देख्न खोजिरहेको बताए ।
‘चुनाव पछाडि त मै हो प्रधानमन्त्री । मै हो प्रधानमन्त्री । को हो त प्रधानमन्त्री ? कुरा नगर्नुस् । नेपालीले हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउन खोजेको छ । देशको वातावरण, देशको प्रकृति, देशको संस्कृति, देशको स्वाधीनताले हर्क साम्पाङ प्रधानमन्त्री बन्नुपर्छ भनिसक्यो,’– उनले भने ।
नेता साम्पाङले आफूसँग एक्लै चुनाव लडेर देखाउन रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टीलगायतका दलहरुलाई चुनौति दिए । उनले आफूविरुद्ध रवि, बालेन र कुलमानमात्रै नभएर एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी पनि एक भएर चुनाव लड्न सक्ने बताए ।
‘एक्लाएक्लै चुनाव लडौं न । हर्क साम्पाङलाई १५ जना मिलेर पछारेर के गर्ने ? सिंगल त छुनै नसक्ने रहेछ त । रवि, बालेन, कुलमानसँग अब एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी सबै पनि मिल्न सक्छन् । श्रम संस्कृतिको विरुद्धमा । तर, श्रम संस्कृतिलाई हल्लाउन सक्दैनन्,’ उनले भने ।
नेता साम्पाङले काठमाडौं महानगरपालिका प्रमुख बालेन नेपालको शक्तिबाट परिचालित नरहेको बताए । उनले यो देशको माटोबाट उम्रेको शक्ति भनेको आफूमात्रै रहेको बताए । ‘यति बुझ्नुस्– उहाँ (बालेन) यो देशको शक्तिबाट परिचालित चाहिँ हुनुहुन्न । जनताको आधारबाट चाहिँ होइन । यही माटोमा उम्रेको शक्ति भनेको हर्क साम्पाङमात्रै हो,’– उनले भने ।




प्रतिक्रिया