भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुने संवैधानिक व्यवस्था गरिनुपर्छः पूर्वमन्त्री पासवान (भिडिओ)


काठमाडौं, १७ पुस । बहुजन शक्ति पार्टीका अध्यक्ष एवं पूर्व मन्त्री विश्वेन्द्र पासवानले भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुने संवैधानिक व्यवस्था गरिनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरेर उनीहरुको सम्पत्ति राष्ट्रियकरण गरिनुपर्ने बताएका हुन् । भ्रष्टाचारीहरुलाई देशभन्दा बाहिर जान दिन नहुने, उनीहरुलाई राजनीति र शासन प्रशासनबाट बञ्चित गरिनुपर्ने उनको माग छ ।

‘भ्रष्टाचारलाई अन्त्य गर्नेमात्र होइन । भ्रष्टाचारीहरुलाई मृत्युदण्डको सजाय दिने संवैधानिक व्यवस्था गर्नुपर्छ । भ्रष्टाचारीहरुको सम्पूर्ण सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । त्यो सम्पत्ति नेपाली जनतालाई वितरण गर्नुपर्छ । भ्रष्टाचारीहरुको तीनपुस्ते सार्वजनिक गरेर देशभन्दा बाहिर जान दिन हुँदैन । राजनीति र शासन प्रशासनमा बञ्चित गराउनुपर्छ । म नेपालको संविधान संशोधन हुनुपर्छ भन्ने कुरामा माग गर्न चाहन्छु,’– पूर्वमन्त्री पासवानले भने ।

साथै, उनले प्रधानमन्त्री सुशीला कार्कीलाई जेन–जी आन्दोलन दवाउन गोली हान्न आदेश दिने जोसुकै भए पनि कारबाही गर्न आग्रह गरे । उनले उक्त आदेश दिने केपी शर्मा ओली, शेरबहादुर देउवा, रमेश लेखक जो भए पनि कारबाहीको भागिदार हुनुपर्ने बताए । उनले भने, ‘जेन–जी आन्दोलनमा गोली हान्ने आदेश दिने जो भए पनि, ,जुन पार्टीको भए पनि, चाहे त्यो केपी शर्मा ओली होस्, चाहे त्यो शेरबहादुर देउवा होस्, चाहे रमेश लेखक होस् । कानूनले तिनीहरुलाई कठघरामा कहिले उभ्याउने हो ? ओली, लेखक र देउवालाई कहिले कठघरामा उभ्याउने हो ? त्यो काम वर्तमान सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गर्नुपर्छ कि पर्दैन ? चुनावपछि हुने हो भने तपाईँ यो देशको प्रधानमन्त्री भइरहँदा दोषीलाई उम्मेदवार नभए हुन्थ्यो भन्ने नेपाली जनताको चाहना छ ।’