काठमाडौं, १८ पुस । विशेष महाधिवेशनको राजनीतिक प्रस्ताव तयार पार्नका लागि काभ्रेको धुलिखेल पुगेका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा शुक्रबार विहानै काठमाडौं फर्किएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले कार्य सम्पादन समितिको बैठक बोलाएपछि उनी आजै काठमाडौं फर्किन बाध्य भएका हुन् । काठमाडौं फर्किएका महामन्त्री थापाले आज पनि विशेष महाधिवेशन पक्षधर नेताहरुसँग छलफल गर्ने बताइएको छ ।
स्रोतका अनुसार थापा केही दिन धुलिखेलमा बसेर विशेष महाधिवेशनको राजनीतिक प्रस्ताव तयार पार्नका लागि हिजो बेलुका धुलिखेलतर्फ लागेका थिए । सभापति देउवाले आज दिउँसो ३ बजेका लागि कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । स्रोतका अनुसार महामन्त्री थापा अहिले विशेष महाधिवेशन पक्षधर नेताहरुसँग सभापति देउवाले डाकेको कार्यसम्पादन समितिको बैठकमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
हिजो (बिहीबार) साँझ सभापति देउवाले महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मालाई छलफलको लागि भन्दै आफ्नो निवास महाराजगञ्जमा बोलाएका थिए । तर, महामन्त्रीद्वयले सभापति देउवाले बोलाएको छलफलमा जान अस्वीकार गरेका थिए ।




प्रतिक्रिया