सर्लाही कांग्रेसमा प्रमाणित भ्रष्टाचारी सुरेन्द्रको हालिमुहालीः प्रतिनिधिसभा प्रत्यक्षतर्फ भाइ र छोरा, समानुपातिकमा श्रीमती सिफारिस


काठमाडौं, १८ पुस । नेपाली कांग्रेस सर्लाहीका निलम्बित सभापति सुरेन्द्र प्रसाद सिंहले आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गर्दा आफ्ना भाइ वीरेन्द्र प्रसाद सिंह र छोरा सुधिर प्रसाद सिंहलाई सिफारिस गरेका छन् । सर्लाही क्षेत्र नं. ४ बाट पहिलो नम्बरमा महामन्त्री गगन कुमार थापाको नाम सिफारिस भएको छ । दोस्रोमा वीरेन्द्र र तेस्रोमा सुधीरको नाम रहेको छ । वीरेन्द्र सुरेन्द्रका माइला भाइ हुन् भने सुधीर आफ्ना छोरा हुन् ।

नेपाली कांग्रेसले उम्मेदवार छनोटका सन्दर्भमा गत मंसिर १५ गते, १७ गते र २५ गते गरेको परिपत्रअनुसार वीरेन्द्र र सुधीर उम्मेदवार बन्नका लागि योग्यसमेत छैनन् । कांग्रेस महासमिति सदस्यसमेत रहेका डा. राजेश्वर कुशवाहका अनुसार वीरेन्द्र मधेश प्रदेश सभा सदस्य हुन् । जसलाई उम्मेदवार बन्न कांग्रेसको परिपत्रले रोक लगाएका छ । त्यस्तै सुधीरको उमेर हाल २४ वर्ष ५ महिनामात्रै पुगेका छ । संविधानले प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि २५ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था गरेको छ ।

सर्वोच्च अदालतबाट भ्रष्टाचार मुद्दामा डामिएका सुरेन्द्रले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्ना भाइ र छोरा, समानुपातिकतर्फ श्रीमती बेवी सिन्हालाई सिफारिस गरेको महासमिति सदस्य कुशवाहले बताए । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएका वीरेन्द्र र सुधीरको नाम बदर गर्न मागसमेत गरे । उनले यस सम्बन्धमा आफूले केन्द्रीय कार्यालयमा निवेदन दिएको पनि बताए ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले २०८० फागुन १५ गतेको सुरेन्द्रलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ४ महिना १५ दिन कैद सजाय तोकेको थियो । उनीमाथि सिसौको रुख कटान गर्दा ती रुख बेचेर रकम हिनामिना गरेको आरोप थियो । उनीसँग विशेषले सो मुद्दामा १ करोड २३ लाख ६ सय ६ रुपैयाँ असुल गरेको थियो, जुन सर्वोच्चले पनि सदर गरेको छ ।