स्वास्थ्यकर्मी अभाव हुँदा जिल्ला कारागार दार्चुलामा समस्या


दार्चुला, १८ पुस । जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ । अहेबको दरबन्दी रहे पनि गत साउनयता कारागारमा कुनै पनि स्वास्थ्यकर्मी खटिएका छैनन् ।

चिसो मौसमसँगै बिरामीको सङ्ख्या बढ्न थाले पनि स्वास्थ्यकर्मीको अभावले सामान्य स्वास्थ्य जाँच गर्न समेत समस्या भइरहेको जेलर सरिता चन्दले जानकारी दिए । सामान्य बिरामी देखिँदा पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

कारागारबाट करिब ५०० मिटर तल जिल्ला अस्पताल रहे पनि कार्यालयसँग सवारीसाधन नभएकाले सुरक्षाकर्मीको सहायतामा पैदलमार्फत अस्पताल लैजानुपर्ने अवस्था छ । “टाढा लैजानु नपरे पनि सामान्य जाँचका लागि पनि सुरक्षासहित अस्पताल जानु चुनौतीपूर्ण छ”, जेलर चन्दले भने ।

उनका अनुसार कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांशमा पाइल्सको समस्या देखिएको छ । व्यायामको अभावका कारण यस्तो समस्या बढेको हुनसक्ने उनको अनुमान छ ।

‘घ’ श्रेणीको जिल्ला कारागारको क्षमता ४० जनाको रहेको जनाउँदै जेलर चन्दले हाल क्षमताभन्दा झण्डै दोब्बर बढी कैदीबन्दी राखिएको बताए । उनका अनुसार २५ जना पुरुष र १५ जना महिलाको क्षमता रहेको कारागारमा हाल ७० जना कैदी र २१ जना थुनुवा गरी कूल ९१ जना राखिएका छन् ।

महिला कैदीबन्दी नभएकाले पुरुषलाई महिला वार्डमा राखिएको जनाउँदै महिला कैदीबन्दी आएपछि व्यवस्थापनमा समस्या आउने जेलर चन्दले बताए । “कारागारभित्र शौचालय र सुत्ने स्थानको अभाव छ । चिसो मौसममा कैदीबन्दी एकैठाउँमा सुत्छन् । गर्मी मौसममा थप कैदीबन्दी आए बास व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हुनेछ”, उनले भने ।

विसं २०३८ मा निर्माण भएको कारागारको भवन पनि जीर्ण बनेको जेलर चन्दले जानकारी दिए । उनका अनुसार कारागारमा हाल एक जना ज्येष्ठ नागरिक र दुई जना अपाङ्गता भएका कैदीबन्दी रहेका छन् । स्वास्थ्यकर्मी अभाव हुँदा कैदीको स्वास्थ्य जाँचमा समस्या हुँदै आएको बताउँदै यी तीन जनाको स्वास्थ्य जाँच, हेरचाहमा थप समस्या हुने गरेको उनले उल्लेख गरे । रासस