काठमाडौं, पुस २१ । काठमाण्डौसहित देशभर चिसो बढेको छ । हिजो न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको काठमाण्डौमा आज बिहान ३ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको यो तापक्रम यस वर्षको हिउँद शुरू भएयताकै सबैभन्दा कम हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि तराईका धेरैजसो ठाउँमा बिहानैदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ । आज विशेषगरी बाँकेको नेपालगञ्जमा बाक्लो हुस्सु लागेको छ । अहिले नेपालगञ्जको भिजिबिलिटी ५० मिटर मात्र रहेको छ ।
त्यसैगरी भैरहवामा भिजिबिलिटी १ सय मिटर मापन गरिएको छ । काठमाण्डौ उपत्यकामा ५ किलोमिटरसम्म भिजिबिलिटी रहेको छ । तराईमा लागेको बाक्लो हुस्सुका कारण जनजीवन, पर्यटन, स्वास्थ्य सेवा तथा सडक यातायातमा प्रत्यक्ष प्रभाव परेको छ ।
महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आज पनि एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया