२१ फागुनको निर्वाचनमा कसैसँग पनि गठबन्धन नगर्ने रवि लामिछानेको घोषणा, एक सिट पनि नहार्ने दाबी


काठमाडौं, २४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनमा सबै सिटमा जित निकाल्ने दाबी गरेका छन् । उनले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने स्पष्ट पारे । आज (बिहीबार) चितवनमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले २१ फागुनको निर्वाचनमा रास्वपाले एकसेएक उम्मेदवार उठाउने र सबै क्षेत्रमा जित हासिल गर्ने उद्घोष गरे । उनले भने,‘सभापति र अध्यक्ष एक एक वटा गर्दै कार्यकाल बाँड्दै, दुइटा कुर्सी छेउमा राख्ने युगलाई अन्त्य गर्ने हो । एउटा पार्टीले अर्का पार्टीका लागि भोट माग्ने युगको अन्त्य गर्ने हो । चुनाव भन्दा अगाडि गठबन्धन गरेर ठगबन्धन गर्दै राज्य सत्ता हत्याउने यो अभियानलाई बन्द गर्ने हो, यो युगलाई अन्त्य गर्ने हो । राष्ट्रको आवश्यकता अनुसार हामीले यस पटक उम्मेदवार छान्नमा गल्ती गरेनौँ भने रास्वपाले एक सिट हार्दैन ।’ जेलबाट रिहा भएपछि लामिछानेको यो चितवनमा दोस्रो कार्यक्रम हो । उनी अब चुनावकेन्द्रित कार्यक्रममा व्यस्त हुनेछन् ।