संयम, संवाद र दीर्घकालीन विकासप्रति प्रतिबद्ध रहन आग्रह
काठमाडौँ । नेपाली काङ्ग्रेसको शुभेच्छुक संस्था तथा लोकतन्त्रवादी इन्जिनियरहरूको साझा संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) ले वर्तमान राष्ट्रिय तथा राजनीतिक परिस्थितिको सन्दर्भमा नेपाली काङ्ग्रेस पार्टीका सम्पूर्ण नेतृत्व वर्गलाई सम्बोधन गर्दै शुभेच्छा पत्र प्रदान गरेको छ।
सिडेन केन्द्रीय समितिको तर्फबाट उक्त शुभेच्छा पत्र नेपाली काङ्ग्रेस, केन्द्रीय पार्टी कार्यालय सानेपा, ललितपुरमा औपचारिक रूपमा बुझाइएको हो। पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेल ले उक्त पत्र ग्रहण गर्दै पार्टीका सम्पूर्ण जिम्मेवार नेता तथा नेतृत्व तहसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुभेच्छा पत्र सिडेनका केन्द्रीय महासचिव ई. सुदर्शन शर्मा ले हस्तान्तरण गरेका हुन् । सो अवसरमा महासचिव शर्माले सिडेन नेपाली काङ्ग्रेसको विचार, मूल्य र ऐतिहासिक भूमिकाप्रति दृढ आस्था राख्ने संस्था भएको उल्लेख गर्दै वर्तमान अवस्थामा पार्टी नेतृत्वले देखाउने संयम, परिपक्वता र दीर्घकालीन दृष्टिकोणले मुलुकको भविष्य निर्धारण गर्ने बताए।
उनले भने,“देश आज बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको अवस्थामा जनताको भरोसा अझै पनि नेपाली काङ्ग्रेसमाथि केन्द्रित छ। यही कारणले सिडेनले जिम्मेवार शुभेच्छुक संस्थाको हैसियतले पार्टी नेतृत्वलाई संयम, संवाद र दीर्घकालीन विकासप्रति अझ गम्भीर हुन आग्रह गरेको हो।”
शुभेच्छा पत्रमा हालै सम्पन्न सिडेन केन्द्रीय समितिको पश्चिमदेखि पूर्वसम्मको देशव्यापी भ्रमण, दुरदराजमा कार्यरत इन्जिनियरहरूसँगको प्रत्यक्ष संवाद, तथा नेपाली काङ्ग्रेसका जिल्ला तहदेखि कार्यकर्ता तहसम्मका भावना र सरोकारको अध्ययनका आधारमा वर्तमान राष्ट्रिय अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।
पत्रमार्फत सिडेनले केन्द्रीय तहमा देखिएका आन्तरिक मतभेद र अन्यौलका कारण कार्यकर्ता तथा बौद्धिक समुदायमा निराशा बढ्दै गएको उल्लेख गर्दै विचारको बहुलतालाई सम्मानजनक संवादमार्फत समाधान गर्नु आजको ऐतिहासिक आवश्यकता भएको धारणा अघि सारेको छ।
सिडेनले नेपाली काङ्ग्रेसको सम्पूर्ण नेतृत्व वर्गलाई आन्तरिक मतभेदलाई सार्वजनिक टकरावमा रूपान्तरण नगरी संवाद र सहमतिमार्फत समाधान गर्न, राष्ट्रिय संकटका विषयमा जिम्मेवार र स्पष्ट भूमिका निर्वाह गर्न, विकास निर्माणमा संलग्न इन्जिनियर तथा प्राविधिकहरूका लागि सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न तथा दीर्घकालीन विकास, सुशासन र संस्थागत स्थायित्वमा पार्टीको नेतृत्व क्षमता व्यवहारबाट प्रमाणित गर्न आग्रह गरेको छ।
साथै, आगामी निर्वाचनमा राष्ट्र निर्माणमा योगदान दिइरहेका इन्जिनियर तथा प्राविधिक वर्गलाई सम्मानजनक भूमिका र अवसर सुनिश्चित गर्नुपर्नेमा पनि सिडेनले ध्यानाकर्षण गराएको छ।
अन्त्यमा, सिडेनले नेपाली काङ्ग्रेस संयम, गम्भीरता र दूरदृष्टिका साथ अघि बढोस्, राष्ट्रिय आवश्यकताको उचित सम्बोधन गरोस् र विकासका अभियन्ताहरूलाई साथ लिएर देशको समृद्ध भविष्य निर्माणमा अग्रसर रहोस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गरेको छ।




प्रतिक्रिया