हर्क साम्पाङसँग सुदन किरातीको भेट, आपसी सहकार्यको विषयमा छलफल


काठमाडौं, २७ पुष । जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वमन्त्री सुदन किराँतीले श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग भेट गरेका हुन् । यी दुई नेताबीच २१ फागुनको निर्वाचनमा चुनावी प्रतिष्पर्धा हुने चर्चा चलिरहेको छ । यही चर्चाको बीचमा आज उनीहरुबीच धरानमा भेटवार्ता भएको हो ।

धरानको रमाइलो चोकस्थित् होटल ह्वाइट डोभमा भएको भेटमा देशको वर्तमान राजनीतिक तथा आर्थिक संकट र त्यसको निकासका उपायबारे गम्भीर छलफल भएको किरातीको सचिवालयले जानकारी दिएको छ । किरातीले मेयर साम्पाङसँगको छलफल सकारात्मक रहेको र संवाद जारी राख्ने सहमति भएको प्रतिक्रिया दिए ।

यस्तै, उनले आवश्यक परे आपसी सहकार्य गर्ने विषयमा समेत आफूहरुबीच सहमति भएको दाबी गरे । हर्कले नेतृत्व गरेको पार्टीका नेता तथा कार्यकर्ताले सुदनलाई यही पार्टीमा आवद्ध हुन सामाजिक सञ्जालमार्फत दबाव बढाईरहेका छन् । ०७९ को निर्वाचनमा भोजपुरबाट निर्वाचित भएका सुदन यसपटक सुनसरीबाट चुनाव लड्ने चर्चा छ । यो जिल्ला हर्कको प्रभाव भएको जिल्ला मानिन्छ ।