काठमाडौं, पुस २८ । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर समूहको आह्वानमा हिजोेदेखि सुरु भएको विशेष महाधिवेशनको बन्दसत्र अहिले बिहान ८ बजेदेखि हुने भएको छ । कांग्रेस विशेष महाधिवेशन सचिवालय समन्वय समितिका संयोजक मनोजमणि आचार्यका अनुसार अहिले खाजा खाएर सुरु हुने बन्दसत्रले सबैभन्दा पहिला विशेष महाधिवेशनका लागि बनाएको कार्यविधि पारित गर्ने कार्यक्रम रहेको छ ।
बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै नौ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने संयोजक आचार्यले बताए ।
बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका र नीतिगत सुधारका विषयमा धारणा राखिने अपेक्षा गरिएको छ। बन्दसत्रमा जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रममा जनचाहनाअनुसार कांग्रेसलाई कुन दिशामा अगाडि लैजाने भन्नेबारे बृहद् छलफल गरिने छ।
प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्नेछन् ।




प्रतिक्रिया