मुस्ताङ, २८ पुस । यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ । मुस्ताङको घरपझोङ-३ स्थित विद्युत् वितरण संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाले हावाका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि सेवा अवरुद्ध भएको जनाएको हो ।
थासाङ गाउँपालिका-४ मिसीस्थित केन्द्रिय विद्युत् प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्याएपछि नियमित प्रसारण भइरहेको विद्युत् ४८ घण्टादेखि अवरुद्ध भएको विद्युत् वितरण संस्थाका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । उनका अनुसार सुरुमा थासाङ(२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि सेवा अवरुद्ध गरिएकामा आइतबार राति आएको हावाहुरीले विद्युत्का खम्बामा क्षति पुर्याएपछि सेवा अवरुद्ध भएको हो ।
कार्यालय प्रमुख थकालीले खम्बामा क्षति भएका स्थानमा विद्युत् प्राधिकरणका प्राविधिक टोली मर्मतका लागि परिचालित भइसकेका जानकारी दिए । थासाङ-२ कोवाङमा प्राधिकरणको ३३ केभी सवस्टेसन रह पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा विद्युत् प्रसारणमा समस्या हुँदै आएको छ ।
थासाङ-१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला हाइड्रोले विद्युत् उत्पादन गरिरहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा केन्द्रीय प्रसारण लाइनमा प्राविधिक समस्या आएमा मुस्ताङ अन्धकारमय हुने गरेको प्रमुख थकालीले बताए ।
थापाखोला हाइड्रोले उत्पादित विद्युत् प्राधिकरण वितरण गर्दै आएको छ । जिल्लाका माथिल्लो क्षेत्रमा प्राधिकरणको पहुँच स्थापित नहुँदा मुस्ताङमा पटकपटक विद्युतीय समस्या उत्पन्न हुने गरेको स्थानीयले गुनासो गरेका छन् ।
हिउँदयामको अत्यधिक चिसो मौसममा विद्युत् आपूर्ति बन्द हुँदा सरकारी कार्यालयका नियमित कामकाजका साथै स्थानीयलाई टेलिभिजन हेर्न, मोबाइल चार्ज गर्नलगायत दैनिक काममा समस्या परेको एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलले उल्लेख गरे । रासस




प्रतिक्रिया