काठमाडौं, पुस २९ । नेपाली कांग्रेसको विवाद मिलाउन आज त्रिपक्षीय वार्ता हुँदैछ । पार्टीभित्र एकता कायम गर्नका लागि विशेष महाधिवेशन पक्षधर, शेखर कोइराला पक्ष र संस्थापन पक्षबीच त्रिपक्षीय वार्ता हुन लागेको हो । वार्ताका लागि वार्ता समितिका सदस्यहरु लाजिम्पाटस्थित एक नेताको घरमा भेला हुनेक्रम जारी रहेको छ ।
वार्तामा महाधिवेशन पक्षधरहरुका तर्फबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज लिसे, मधु आचार्य सहभागी छन् भने शेखर कोइरालाबाट जीवन परियार र मिनेन्द्र रिजाल तथा संस्थापनका तर्फबाट रमेश लेखक र बालकृष्ण खाँण सहभागी हुँदैछन् ।
संस्थापन पक्षले महामन्त्रीहरुको नेतृत्वमा जारी दोस्रो विशेष महाधिवेशनलाई अपनत्व नलिएपछि यसअघि सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कार्यबहाक सभापति पूर्णबहादुर खड्कालाई आफ्नो बटमलाइन पेश गरेका थिए ।
यसैबीच संस्थापन पक्षले आज दिउँसो कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यका साथै सातै प्रदेशका सभापतिको अनिवार्य उपस्थित हुन आग्रह गरिएपनि बैठकमा विशेष महाधिवेशन पक्षधर भने सहभागी नहुने भएको छ । आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा रहेका विशेष महाधिवेशन पक्षधरले कार्यसम्पादन समितिले बहिष्कार गर्ने जनाएको छ । त्यसअघि कांग्रेसको विवाद मिलाउन अहिले केहीबेरमा त्रिपक्षीय वार्ता हुन लागेको हो ।




प्रतिक्रिया