भरतपुर अस्पतालमा बिरामीको चाप


चितवन, २९ पुस । गर्मी महिनामा बिरामी धान्न मुस्किल हुने भरतपुर अस्पतालमा जाडो महिनामा बिरामीको सङ्ख्या हालसम्मको उच्च पुगेको छ । अस्पतालको तथ्याङ्कअनुसार पुस २८ गते एकै दिन तीन हजार ११९ बिरामीले बहिरङ्ग सेवा लिएका हुन् ।

अस्पतालका स्वास्थ्य बीमा कार्यक्रम इन्चार्ज लिलाधर पौडेलका अनुसार ती बिरामीमध्ये दुई हजार ४७७ स्वास्थ्य बीमाका हुन् भने ६४२ नगदमा सेवा लिने हुन् । बीमाबाट सेवा लिने ७५ प्रतिशत रहेका छन् ।

विसं २०८१ पुस २८ गते दुई हजार ४७० जनाले सेवा लिएका थिए । त्यतिबेला एक हजार ८०५ स्वास्थ्य बीमाका र ६६५ अन्य रहेका थिए । विसं २०८० मा यो सङ्ख्या दुई हजार ३५७ थियो । त्यसमध्ये स्वास्थ्य बीमाका एक हजार ६८५ र ६७२ अन्य थिए । पौडेलका अनुसार यसअघिको अस्पतालको सबैभन्दा उच्च बिरामी सङ्ख्या २०८० असोज ४ गते रहेको थियो । त्यस दिन तीन हजार दुई जनाले सेवा लिएकामा दुई हजार १४३ स्वास्थ्य बीमाका र ८८९ अन्य बिरामी थिए ।

पौडेल एकाएक बिरामी बढ्नुमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु परिवर्तन हुनसक्ने आशंका, पुसमा धेरैको बीमा अवधि सकिनु, काठमाडौँका कतिपय अस्पतालले बीमा सेवा बन्द गर्नु, विद्यालयमा बिदा हुनुलगायतका कारण हुनसक्ने बताउँछन् ।

स्वास्थ्य बीमामा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पतालको रूपमा चिनिन्छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेल स्वास्थ्य बीमासँगै नगदमा सेवा लिनेलाई अस्पतालले गरेको उच्चतम व्यवस्थापनका कारण बिरामीको उच्च चाप भएको बताउँछन् । के कारणले एकाएक बिरामी बढे भन्न नसकिने भन्दै उनले बीमा बन्द हुने हल्लाकै कारण बिरामी थपिएको हुनसक्ने बताए ।

भरतपुरमा एक वर्षमा झण्डै चार लाख ५० हजार पटक बीमामा सेवा लिने आउने गरेका छन् । उनीहरुलाई सेवा दिएवापत बीमा बोर्डले भुक्तानी गर्नुपर्ने रकम ६० करोडभन्दा माथि पुगेको पौडेलले बताए । रासस