काठमाडौं, पुस ३० । सिन्धुलीमा नेपाल एसबीआई बैंकको शाखा लुटपाट भएको छ । मंगलबार साँझ सात बजेको समयमा सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको बैंकको शाखा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले जानकारी दिए । पाँच ६ जनको संख्यामा आएको समूहले सुरक्षा गार्डमाथि कुटपिट गरी बैंकमा लुटपाट भएको उनले बताए ।
प्रहरीले लुटेरा समूह चढेर आएको गाडी र चालकलाई पक्राउ गरेको जनाएको छ । लुटपाट गर्ने समूहको खोजी भइरहेको छ । लुटपाटबाट कति रकम लुटिएको हो भन्ने यकिन भइसकेको छैन। प्रारम्भीक जानकारीअनुसार, लुटेराहरूले ३ करोड भन्दा बढी रुपैयाँ लुटेर लगेका छन् । जसमा नगदका साथै अन्य मूल्यवान वस्तुहरू पनि समावेश हुन सक्ने अनुमान गरिएको छ। लुटपाटपछि राति स्थानीयले एक बोरा पैसा जंगलमा फेला पारेर प्रहरीलाई बुझाएका छन् ।
लुटेराहरूको आक्रमणमा परी घाइते बैंकमा कार्यरत सुरक्षागार्डको उपचार भइरहेको प्रहरीले जनाएको छ। लुटेराहरु काभ्रेपलाञ्चोकबाट योजना अनुसार सिन्धुली पुगेका थिए । प्रहरीका अनुसार सीसीटीभी फुटेज, मोबाइल लोकेसन र प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अघि बढाइएको छ।




प्रतिक्रिया