आठ वर्षदेखि अधुरो रहेका चार पुल निर्माण सम्पन्न


कञ्चनपुर, पुस ३० । तोकिएको समयमा निमार्ण सम्पन्न नभएका कञ्चनपुरका चार वटा पुल आठ वर्षपछि सम्पन्न भएका छन । पटक पटक म्याद थप भएर पनि आठ वर्षसम्म निर्माण हुन नसकेका चार वटा पुल हालै सम्पन्न भएका सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख राजेशकुमार यादवले जानकारी दिए।

उनका अनुसार तीन पटक म्याद थप हुँदा निर्माण हुन नसकेको कृष्णपुर नगरपालिकास्थित ओदाल खोलाको पुल सम्पन्न भएर आवतजावत सुरु भएको छ । उक्त पुल निर्माणका लागि २०७३ भदौ १७ मा १८ महिनाभित्र सम्पन्न गर्नेगरी थेगिम गाल्भा जेभीसँग पाँच करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

‘उक्त पुल निर्माण गर्न म्याद थप गरेको समयमा व्यवसायीले काम नगरेपछि हामीले १० प्रतिशत हर्जाना तिराएर यस पटक काम सम्पन्न गराएका छौँ’, प्रमुख यादवले भने, ‘यसरी वर्षौँदेखि अलपत्र परेका कञ्चनपुरका चार वटा पुल निर्माण हामीले सम्पन्न गरेका छौँ ।’

सम्झौताको नौ वर्षपछि कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको भुलीपर्सिया जोड्ने दोदा नदीको पुल निर्माण सम्पन्न भएको छ । उक्त पुल निमार्णका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड ५२ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार २०७५ पुसभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि काम सकिएको प्रमुख यादवले बताए । ‘पुल निर्माण सकिएर परीक्षणको कार्य भइरहेको छ । दुई–तीन दिनभित्रै उक्त काम सम्पन्न हुन्छ’, उनले भने, ‘पुलको फाउण्डेशनमा समस्या आएपछि निर्माणमा ढिलाइ भएको हो ।’

त्यसैगरी पाँच पटक म्याद थप भएर निर्माण हुन नसकेको दोधारा चाँदनीस्थित मलेरिया नालामाथिको पुल हालै सम्पन्न भएको डिभिजन सडक कार्यालय महेन्द्रनगरले जनाएको छ । उक्त पुल १८ महिनाभित्र सम्पन्न गर्नेगरी २०७४ वैशाख १४ गते शङ्कर–माली एकेला जेभीसँग चार करोड ६१ लाखमा ठेक्का सम्झौता भएको थियो ।

त्यस्तै बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोलामाथि निर्माण गरिने पुलको पनि पाँच पटक म्याद थप भएको छ । २०७४ जेठमा तीन वर्षभित्र सम्पन्न गर्नेगरी राजेन्द्र–लुम्बिनी जेभीसँग १३ करोड ६५ लाखमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख यादवले भने, ‘समयमा काम नगर्ने निर्माण व्यवसायीलाई हर्जाना तिराएरसमेत निमार्ण सम्पन्न गरेका छौँ ।’ रासस