दिवङ्गत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना


म्याग्दी, ३० पुस । सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान गर्न बेनीका एक परिवारले दिवङ्गत अभिभावकको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

बेनी नगरपालिका–७ का स्वर्गीय पुतलीदेवी र लक्ष्मीप्रसाद श्रेष्ठका स्मृतिमा उनका छोराछोरी र बुहारीले पाँच लाखको अक्षयकोष स्थापना गरे ।

सञ्जयकुमार–सानुहरी श्रेष्ठ, अजयमिलन–सृजना श्रेष्ठ, ह्दयकुमार–पद्या श्रेष्ठ, सुनितादेवी–रामलाल श्रेष्ठ, धनञ्जयकुमार–सन्ध्या श्रेष्ठ र विनय–कल्पना श्रेष्ठले स्थापना गरेको कोषबाट हरेक वर्ष जिल्लामा सामाजिक, शैक्षिक र राजनीतिक क्षेत्रमा योगदान गर्ने व्यक्तित्वहरूलाई पुरस्कृत तथा सम्मान गरिने भएको छ ।

यस वर्ष जिल्लामा उल्लेखनीय भूमिका निर्वाह गरेका शिक्षाप्रेमी समाजसेवी गोपालनारायण भट्टचन, भीमप्रसाद गौचन र शिवनारायण फगामीलाई अनिनन्दन गरिने मङ्गलबार श्रेष्ठ परिवारले घोषणा गरेका छन् ।

बेनीको प्रकाश माविका जग्गादाता, बेनी सामुदायिक माविको संस्थापक व्यवस्थापन समिति अध्यक्ष, रुममा लालीगुराँस खेलकुद विकास समिति गठन साथै विभिन्न सामाजिक र संस्कृति संरक्षणको क्षेत्रमा योगदान गरेका स्वर्गीय लक्ष्मीप्रसाद र पुतलीदेवीको सामाजिक क्षेत्रमा काम गर्ने भावनाबाट प्रभावित भएर उनीहरूको स्मृतिमा अक्षयकोष स्थापना गरेको जेठा छोरा सञ्जय श्रेष्ठले बताए । पुतलीदेवीको २०५९ पुस १८ र लक्ष्मीप्रसादको २०६५ पुस २९ गते निधन भएको थियो । रासस