काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (CLICL) र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (KIOCH) बीच बाल अस्पताल निर्माणका लागि आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ।
बुधबार (पुस ३०, २०८२) सम्पन्न सम्झौताअनुसार सिटिजन्स लाइफले केआईओसीएचलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने भएको छ। उक्त सहयोग काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-७ मा निर्माण हुने केआईओसीएच-काठमाडौं चिल्ड्रेन्स अस्पताल निर्माणमा खर्च गरिनेछ।
सम्झौतामा सिटिजन्स लाइफका तर्फबाट अध्यक्ष प्रदीप जंग पाण्डे र केआईओसीएचका तर्फबाट संस्थापक अध्यक्ष प्रा. डा. भगवान कोइरालाले हस्ताक्षर गरेका छन्।
केआईओसीएचले नेपालमा बालस्वास्थ्य सेवा सहज, सुलभ र सर्वसुलभ बनाउने लक्ष्यसहित २०० शैय्याको अत्याधुनिक बाल अस्पताल निर्माण गर्न लागेको हो, जसलाई आगामी दिनमा देशका अन्य प्रदेशहरूमा समेत विस्तार गर्ने योजना रहेको छ।
सम्झौताअनुसार परियोजना सम्पन्न भएपछि अस्पताल परिसरमा केआईओसीएचको डोनर नेमिङ पोलिसीअनुसार सिटिजन्स लाइफको नाम समावेश गरिनेछ। साथै, सिटिजन्स लाइफले आवश्यक परे परियोजना स्थलको अवलोकन गर्न सक्नेछ भने केआईओसीएचले वार्षिक रूपमा प्रगति विवरण उपलब्ध गराउनेछ।
दुवै संस्थाले पारदर्शिता र उत्तरदायित्वका सिद्धान्तमा आधारित रही भविष्यमा समेत आवश्यकता र स्रोतको उपलब्धताअनुसार सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
सम्झौतामा साक्षीका रूपमा सिटिजन्स लाइफका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र केआईओसीएचका प्रमुख सञ्चालन अधिकृत दिपेन्द्र खड्काले हस्ताक्षर गरेका छन्।





प्रतिक्रिया