म्याग्दी, माघ १ । म्याग्दीमा बसोबास गर्ने मगर र छन्त्याल समुदायमा माघेसङ्क्रान्ति पर्वको रौनक छाएको छ । म्याग्दीमा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन् । अल्पसङ्ख्यक छन्त्याल समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन् ।
नेपाल मगर सङ्घ म्याग्दीका अध्यक्ष खम थापामगरले साउने सङ्क्रान्तिलाई हिउँद र माघेसङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको बताए । ‘प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्’, उनले भने, ‘माघेसङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मीठामीठा परिकार खुवाउने चलन छ ।’
यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ । मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुर्ख्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ ।
चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघेसङ्क्रान्तिमा माइतीघर जान्छन् । यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किएका अन्नपूर्ण गाउँपालिका– ७ टिकोटकी टिका तिलिजा पुनले बताइन् । चाडपर्वले आफन्तजन र साथीभाइसँग भेटघाट हुने अवसर जुराएको उनले बताइन् । माघेसङ्क्रान्ति पर्वको अवसरमा मगर बस्तीहरूमा खेलकुद तथा सांस्कृतिक मेला आयोजना भएका छन् ।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पर्ने म्याग्दीको सदरमुकाम बेनी बजारमा २०० वर्षअघि बस्ती बसेदेखि माघेसङ्क्रान्तिको अवसरमा मेला लाग्ने चलन रहेको स्थानीयवासीसमेत रहेका बेनी नगरपालिकाका पूर्वप्रमुख हरिकुमार श्रेष्ठले बताए । उनका अनुसार चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघेसङ्क्रान्ति मेलामा आउने गर्दथे ।
बेनीस्थित कालीगण्डकी नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । ‘त्यसबेला अहिलेको जस्तो गाउँ गाउँमा बजार थिएन । किनमेलका लागि मेला कुर्नुपर्थ्यो । बेनीमा माघेसङ्क्रान्तिको मेला किनमेलको माध्यम थियो’, श्रेष्ठले भने, ‘युवाहरूले गीत गाउने, नाच्ने गरेर रमाइलो गरेको अझै झलझली लाग्छ ।’
समय, परिवेश र जीवनशैलीमा आएको परिवर्तनसँगै बेनीमा हुने मेलाको स्वरुप पनि फेरिएको छ । पछिल्लो समयमा यहाँ मेला र महोत्सव आयोजना गरेर पुरानो परम्परालाई निरन्तरता दिँदै संरक्षण र प्रवर्द्धनमा जोड दिइएको छ ।
हरेक तीन/तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गरिदै आएको छ । सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ । यस वर्ष बुधबारदेखि बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला, खाना महोत्सव र कृषि मेला प्रदर्शनी सुरु भएको छ ।
बेनीमा परम्परागत रुपमा लाग्ने माघे सङ्क्रान्ति मेलाको जगेर्ना, स्थानीय खाना, कला संस्कृतिको संरक्षण र सम्वर्द्धन, आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन, प्रतिभा पहिचानका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन महोत्सव आयोजना गरिएको समितिका सभापति अम्बिका श्रेष्ठले बताइन् । रासस




प्रतिक्रिया