रविविरुद्धका मुद्दा फिर्ता लिने विषयले निर्वाचनको वातावरण प्रभावित हुन सक्छ: एमाले महासचिव


काठमाडौं, माघ १ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध लगाइएको संगठित अपराध र सम्पति शुद्धीकरणको मुद्दा फिर्ता लिने विषयले निर्वाचनको वातावरण प्रभावित हुन सक्ने बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले महान्यायाधिवक्ताको कार्यालयमार्फत मुद्दा फिर्तासम्बन्धी निवेदन सम्बन्धित जिल्ला सरकारी वकिलको कार्यालयमा पुगेको विषयले आगामी निर्वाचनको वातावरण प्रभावित हुने टिप्पणी गरेका हुन् । सरकारका पछिल्ला केही गतिविधिले सरकार वास्तवमै कहाँबाट सञ्चालित हुँदैछ भन्ने प्रश्न उठेको उनको भनाई छ ।

त्यस्तै, उनले नेपाली कांग्रेसलाई एकतावद्ध हुन समेत आग्रह गरेका छन। उनले दलहरू फुट्नु भन्दा जुट्नु लोकतन्त्रका लागि हितकर हुने बताउँदै कांग्रेसभित्र देखिएको विवादले लोकतान्त्रिक प्रणालीमा नकारात्मक असर पार्ने धारणा राखेका छन् ।

महासचिव पोखरेलले समाजमा अझै पनि पूर्ण रूपमा शान्ति सुरक्षाको प्रत्याभूति हुन नसकेको उल्लेख गर्दै लुटिएका हतियार संकलन, फरार कैदी फिर्ता र प्रहरीको मनोबल उच्च बनाउने काममा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।