शिक्षामा स्वजागरणको अभ्यास


-कमला ज्ञवाली

काठमाडौँ, २ माघ (रासस) । भगवान् गौतमबुद्धको भनाइमा स्वयंलाई चिन्नु वास्तविक शिक्षा हो । भगवान् गौतमबुद्ध स्वयंलाई चिनेको र स्वजागृत भएको व्यक्ति हो कुनै औपचारिक शिक्षा र जिपिए प्राप्त व्यक्ति होइन । हरेक व्यक्तिभित्र अन्तरनीहित प्रतिभा÷जीवन ऊर्जा रहेको हुन्छ । त्यो जीवन ऊर्जालाई जगाउने काम मात्र शिक्षाको हो । हरेक व्यक्ति स्वयं आफैँबाट जाग्यो भने मात्र राष्ट्र जाग्छ, समृद्धि हुन्छ ।

हरेक व्यक्तिमा खुसी, शान्ति, आनन्द, आरोग्य छ तर प्रस्फुटन हुन सकेको छैन । त्यसैले व्यक्तिले ती चिज पैसा, धन, सामग्री, पद, प्रतिष्ठा, इज्जत र बाहिरी संसारमा खोजिरहेको छ तर प्रकृतिमा त्यस्तो छैन । धनले स्वास्थ्य, खुसी, शान्ति र आनन्द खरिद गर्न सक्दैन । हरेक व्यक्ति आफूभित्रबाटै जागृत हुनुपर्छ । त्यो जागृति शिक्षाबाट मात्र सम्भव छ ।

हामीकहाँ विषयगत ज्ञानको कमी होइन, आत्मज्ञानको कमी छ । म को हुँ, मेरो जिम्मेवारी के हो, मेरो कर्तव्य के हो, मेरो क्षमता के हो र सत्य के हो भन्ने प्रश्नको जवाफ स्वयंले दिनसक्नु नै आत्मज्ञान हो । आत्मज्ञानबिनाको विषयगत ज्ञान कामयावी हुन सक्दैन । वर्तमान परिस्थितिलाई हेर्ने हो भने शिक्षाले खुसी, शान्ति, आनन्द र आरोग्य दिन नसकेको प्रस्ट देखिन्छ ।

कुनै पनि देशको विकास हुन शिक्षा राम्रो हुनुपर्छ । विकसित देशमा शिक्षाले व्यक्तिलाई स्वजागरण गराउन सकेको देखिन्छ । विकसित राष्ट्रमा व्यक्तिको सकारात्मक सोच, उच्च मनोबल÷आत्मबल, साहस, लगनशीलता, अनुशासनबाट यो कुरा प्रष्ट हुन्छ । जीवनलाई सुगन्धित बनाउन तीन कुरा भन्न सक्नुपर्छः धन्यवाद, क्षमा मलाई थाहा छैन । यी तीन चिजले मानिसलाई अन्तरात्मादेखि खुसी, शान्ति, आनन्द र आरोग्यता प्रदान गर्छन् । जीवनमा सत्य, निष्ठा, नैतिकता र इमान्दारीलाई बढाउँछन् । अहिले हाम्रो मुलुकमा हुनुपर्ने काम भइरहेको छैन भने नहुनुपर्ने काम नै धेरै हुनुमा शिक्षाले स्वजागरण गराउन नसक्नु हो ।

हामीकहाँ हेराइभन्दा सोचाइमा समस्या छ । आफूमा समस्या छ र समाधान पनि आफूभित्र नै छ । बाहिरै समस्या देख्ने र बाहिरबाटै समाधान खोजेका कारण सुधार नभएको हो । ठूलो काम गर्न खोजियो भने गर्न सकिँदैन । सानो कामबाट सुधार गरियो भने देश विकसित र समृद्ध हुन कतिबेर लाग्दैन ।

परिवर्तन आफूबाट सुरु गर्नुपर्छ तबमात्र वास्तविक परिवर्तन हुन्छ । परिवर्तनको सुधार आफैँबाट सुरु गर्नुपर्छ । आफू बदलिएर देखाउनेले संसार बदलेका छन् । अरुलाई बदल्न खोज्ने डिप्रेसनको सिकार बनेका छन् । आफू जागृत भएको व्यक्तिमा रिस, लोभ, इष्र्या, घृणा हुँदैन, हुन्छ त केबल इमान्दारी, नैतिकता, अनुशासन, आत्मविश्वास, लगनशीलता, सत्य, निष्ठा जुन देश विकासका लागि आवश्यक स्तम्भ हुन् ।

शिक्षामा स्वजागरणको पहिलो आवश्यकता खुसी, शान्ति, आनन्द र आरोग्यक हो, सिकाइ उपलब्धिको औसत प्राप्ति मात्र हैन । स्वजागरणले मात्र सिकाईको उपलब्धि राम्रो हुन्छ । सर्वप्रथम शिक्षक खुसी हुनुपर्छ, जसले जे बाढ्यौँ त्यही पाइन्छ । शिक्षक खुसी नभई विद्यार्थीलाई खुसी बनाउन सकिँदैन । त्यसैले धन आर्जन हैन, ध्यान आर्जन गर्न सिकाउनुपर्छ । सम्पत्ति जोड्न हैन, असल संस्कार र सम्बन्ध जोड्न सिकाउनुपर्छ । अहिले शरीरमा भन्दा मनमा, मनमा भन्दा भावनामा र भावनामा भन्दा गहिरो समस्या चेतना÷आत्मामा देखिन्छ ।

शरीरले स्वास्थ्य, मनले खुसी, भावनाले शान्ति र चेतनाले आनन्द खोज्छ । शरीरका लागि व्यायाम, मनका लागि प्राणायाम, भावनाका लागि सत्सङ, भक्ति, भजन÷सङ्कीर्तन, समर्पण र चेतनाका लागि ध्यान आवश्यक पर्छ । यसले स्वयंलाई चिन्न मद्दत गर्छ । आजको आवश्यकता स्वयंको शिक्षामा स्वजागरण हो । मानिस खुसीका लागि औषधि प्रयोग गरिरहेका हुन्छन् ।

औषधि भनेको दबाइ हो, जसले स्वास्थ्यलाई दबाउँछ र नयाँ स्वास्थ्य समस्या जन्माउँछ । प्रकृतिमा अद्भूत नियम छ । चौरासी ब्यञ्जन बनाउन सकिन्छ तर भोक किन्न सकिँदैन । महँगो विस्तारा बनाउन सकिन्छ तर निद्रा किन्न सकिँदैन । त्यसैले भौतिक चिजवस्तुभन्दा अभौतिक, देख्न नसकिने, छुन नसकिने चिज अमूल्य छन् । यी कुरा प्राप्त गर्नु नै असली जीवन हो ।

जिम्मेवारी कसको हो ?

शिक्षा खुसी, आत्मदीप्ति र सकारात्मक ऊर्जाका लागि हो । त्यसका लागि शिक्षा क्षेत्रका सरोकारवालाले निम्नलिखित भूमिका निर्वाह गर्न सक्नुपर्छ :

(क) अभिभावकले के गर्ने ?

बालबालिकाको पहिलो शिक्षा आमाको गर्भबाट सुरु हुन्छ । त्यसैले गर्भावस्थाबाट नै बालबालिकालाई कस्तो बनाउने हो त्यसै खालको आहार–विहार, विचार पद्धति अपनाउनुपर्छ । आमा नै असल संस्कार सिकाउन सक्ने पहिलो गुरु हुन् । आमाबुबा सन्तानका लागि ऐना हुन् । आमाबुबा संस्कारी भए मात्र सन्तान संस्कारी हुन्छन् । रोगमुक्त शरीर तनावमुक्त मन र हिंसामुक्त समाज निर्माणका लागि घरपरिवारको वातावरणले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । असल सन्तानका लागि असल आमाबुबा हुनुपर्छ ।

प्रशंसाले आत्मबलको विकास हुन्छ भने अभावमा हुर्केको बालकले हरेक कुराको मूल्य थाहा पाउन सिक्छ । त्यसैले बालबालिकालाई कस्तो बनाउने पहिलो भूमिका अभिभावकमा निर्भर रहन्छ । घरको वातावरणले सिकाइमा प्रत्यक्ष प्रभाव पार्छ । हामीले सच्चा अभिभावक बन्न सक्नुपर्छ । भनिन्छ आठ वर्ष पूरा हुदाँसम्म बालबालिकाको ८० प्रतिशत मात्र मानसिक विकास भएको हुन्छ । त्यसैले प्रारिम्भक बालविकासमा लेखाउनु हुँदैन हाम्रा अविभावकहरु गृहकार्य धेरै खोजिरहनु भएको छ । त्यसैले पहिलो जागरण अविभावकमा ल्याउनुपर्छ । हस्तरेखाको पूर्ण रुपमा विकास नभई लेखाउँदा बालबालिकामा आत्मबल कमजोर, बेखुसी, अशान्ति र आरोग्यता घट्दै जान्छ ।

(ख) विद्यालयले के गर्ने ?

बालबालिकाको दोस्रो घर विद्यालय हो । विद्यालयमा बालबालिकालाई आत्मदीप्ति गराउने दायित्व शिक्षकको हुन्छ । यसका लागि शिक्षकमा स्वजागृति हुनुपर्छ । स्वजागरण भएको शिक्षकले मात्र आफ्ना बालबालिकालाई स्वजागरण गराउन सक्छ । त्यसैले शिक्षक खुसी, शान्त, आनन्दित र आरोग्य बन्नुपर्छ । खुसी शिक्षकले मात्र खुसी बाँड्न सक्छ ।

अहिले शिक्षाले यी कुरा दिन सकेको देखिँदैन । शिक्षक स्वउत्प्रेरित भएको पाइँदैन । शिक्षक जस्तो हुन्छ, विद्यार्थी त्यस्तै हुन्छ । शिक्षक बालबालिकाको ऐना हुन् । संस्कारी शिक्षक भए मात्र विद्यार्थी संस्कारी बन्छ । विद्यार्थीले सबैभन्दा बढी शिक्षकले भनेका कुरामा विश्वास गर्छन् । त्यसैले सर्वप्रथम शिक्षक आफैँमा स्वजागरण हुनु जरुरी छ ।

शिक्षकमा सुधार नभएसम्म शिक्षामा सुधार गर्न सकिँदैन । प्रारम्भिक बालविकासमा बालबालिकालाई गृहकार्य दिनुभन्दा संस्कार सिकाउनु आवश्यक छ । उनीहरूलाई खुसी हुन, शान्त हुन, आनन्दित हुन र आरोग्य हुन सिकाउनु आवश्यक छ । यस तहमा शारीरिक, मानसिक, भावनात्मक, आध्यात्मिक विकास पूर्ण रूपमा गराउने क्रियाकलाप मात्र गराउनुपर्छ ।

पाठ्यपुस्तक पढाउने लेखाउने होइन जीवन पढाउनुपर्छ । प्रारम्भिक बालविकासका बालबालिकालाई जीवन ऊर्जा जगाउन सकियो भने जीवन खुसी, शान्त, आनन्द र स्वस्थ भएर सत्य निष्ठा र इमान्दारीको विकास हुन्छ । हरेक मानिस शान्त नभई देशमा क्रान्ति आउँदैन । त्यसैले सर्वप्रथम प्रारम्भिक बालविकास तथा शिक्षालाई सुधार गरौँ । समस्याको मूल केन्द्र मन हो । समस्या र समाधान त्यसमै हुन्छ ।

प्रत्येक व्यक्तिमा आफ्नो जीवन÷भविष्य निर्माण गर्ने सामथ्र्य हुन्छ । आफूले म को हुँ भनेर नचिनेसम्म समस्या समाधान हुँदैन । यसर्थ विद्यालयलाई सिकाइ केन्द्र बनाऔँ । शिक्षामा सीपलाइ जोडौँ । त्यसका लागि एक विद्यालय एक उद्यम कार्यक्रमको अभियान चलाउनुपर्छ । विद्यालयलाई परिवर्तनको केन्द्र÷रोजगार केन्द्र बनाउनुपर्छ । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ स्थित महेन्द्रग्राम माविमा प्रत्येक शुक्रबार कपाल काट्ने अभियान सुरु भएको छ । यसलाई सबै विद्यालयहरुले कार्यान्वयनमा ल्याउन कोशिस गर्नुपर्छ ।

(ग) स्थानीय सरकारले के गर्ने ?

सङ्घीय शासन व्यवस्थाले शिक्षाका २३ वटा अधिकार स्थानीय सरकारलाई प्रदान गरेको छ । त्यसैले आफ्नो कार्यक्षेत्रमा शिक्षा कस्तो बनाउने र नीतिगत, कानुनी, संस्थागत, संरचनागत पक्षको विकास कसरी गर्ने भन्ने जिम्मेवारी स्थानीय सरकारको हो । स्थानीय सरकार राम्रो, समृद्ध हुन शिक्षा राम्रो हुनुपर्छ । जुन देशको शिक्षाले व्यक्तिलाई आत्मदीप्ति गर्न सक्यो त्यो देश आज विश्वको प्रथम स्थानमा रहेको छ । निष्ठा, सत्य, नैतिकता, सहचरित्रता, इमान्दारीको जग स्थानीय सरकारबाट सुरु हुनुपर्छ । आआफ्नो क्षेत्रमा शिक्षकलाई उत्प्रेरित÷प्रोत्साहन हुने गरी काम गर्नसकेमा मात्र सुधार सम्भव छ ।

(घ) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले के गर्ने ?

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय राम्रो नभएसम्म अरू मन्त्रालयका काम राम्रो हुन सक्दैनन् किनभने हरेक व्यक्तिलाई जगाउने काम यही मन्त्रालयको हो । प्रत्येक व्यक्तिमा रहेको अन्तरनीहित प्रतिभा (जीवन ऊर्जा) प्रस्फुटन नभएसम्म देशमा समृद्धि आउन सक्दैन । कुनै पनि देशको समृद्धि भनेको शिक्षाको राष्ट्रिय नीति, नियम, कानुन कार्यक्रममा भर पर्छ । सबैभन्दा उत्कृष्ट पेसा शिक्षण पेसालाई बनाउने गरी नीतिगत, कानुनी, संस्थागत, संरचनागत सुधार गर्नुपर्छ । स्रोतभन्दा सोचमा समस्या छ । अब हामीले स्वजागरणमा केन्द्रित गरेर शिक्षा परियोजना ल्याउनुपर्छ । तालिमका प्याकेजमा स्वजागरणका विषयवस्तु समेट्नुपर्छ । विषयगत ज्ञानभन्दा आत्मज्ञानका विषयवस्तुमा केन्द्रित गरेर पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षक तालिम प्याकेज बनाई त्यसैअनुरूप शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्छ ।

शिक्षालाई सीप, सीपलाई श्रम, श्रमलाई उत्पादन, उत्पादनलाई बजार, बजारलाई रोजगारी र रोजगारीलाई समृद्धिसँग जोड्नका लागि विद्यालयलाई परिवर्तनको केन्द्र बनाउनुपर्छ । सीपबिनाको शिक्षाले शैक्षिक बेरोजगारीलाई मात्र बढाउँछ त्यसैले ‘एक विद्यालयमा एक उद्यम कार्यक्रम’ को अभियानमार्फत शिक्षामा सीपलाई जोड्दै जानुपर्छ । कम्तीमा १० कक्षा पास भएर निस्कँदा एउटा सीपको क्षमता प्रत्येक बालबालिकाले पाउने गरी मन्त्रालयले काम गर्नुपर्छ । सीपबिनाको प्रमाणपत्र संसारमा बिक्दैन । विद्यालयलाई शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बनाउने होइन कि रोजगारी उत्पादन गर्ने रोजगार केन्द्र बनाउनुपर्छ ।

संस्कार र सीपयुक्त शिक्षा हामी सबैको इच्छा भन्ने नारा तय गरी कार्यक्रम अगाडि बढाउनुपर्छ । विषयगतभन्दा आत्मज्ञानमा केन्द्रित भएर मन्त्रालयले बजेट, नीति, कार्यक्रम ल्याउन ढिला भइसकेको छ । संस्कार र सीपयुक्त शिक्षा हामी सबैको इच्छा’ भने नारा तय गरी शिक्षाले अबका कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

४० प्रतिशत बालबालिकामा १४ वर्षभित्रै मानसिक समस्या सुरु हुन्छ । १६–४० वर्षका १९ जना युवाले दैनिक आत्महत्या गरेको मुख्य कारण बेखुसी र तनाब नै हो । रोगमुक्त शरीर, तनावमुक्त र हिंसामुक्त समाज निर्माणका लागि अहम् भूमिका शिक्षाको हो । शिक्षाले मात्र आत्मदीप्ति गराउन सक्छ । स्वजागरण जागेको प्रत्येक व्यक्तिले मात्र सत्य बुझ्न सक्छ । अबको शिक्षाको गन्तव्य शिक्षामा स्वजागरण नै हो । आफूलाई बदल्नेले मात्र संसार बदल्न सक्छ ।

निष्कर्ष

शिक्षा विषयगत ज्ञानको सञ्चय मात्र नभई स्वयम्लाई चिन्ने, आत्मज्ञान प्राप्त गर्ने र अन्तरनीहीत जीवन ऊर्जालाई जागृत गराउने प्रक्रिया हो । हरेक व्यक्तिभित्र खुसी, शान्ति, आनन्द र आरोग्य विद्यमान भए पनि स्वजागरणको अभावका कारण मानिसले ती मूल्य बाहिरी धन, पद र प्रतिष्ठामा खोजिरहेको छ । आत्मज्ञानबिनाको शिक्षा प्रभावहीन हुन्छ र यही कमजोरीका कारण वर्तमान शिक्षा प्रणालीले व्यक्ति र समाजलाई सन्तुलित, खुसी र नैतिक बनाउन सकेको छैन । राष्ट्रको समृद्धि व्यक्तिगत स्वजागरणबाट सुरु हुन्छ । सोचाइ र चेतनामा परिवर्तन नगरी संरचना र स्रोत मात्र सुधारेर समस्या समाधान हुँदैन । परिवर्तन सानो कामबाट, आफूबाट सुरु हुनुपर्छ ।

स्वजागृत व्यक्ति मात्र इमान्दार, अनुशासित, नैतिक र आत्मविश्वासी हुन्छ, जसले समाज र राष्ट्र निर्माणमा सकारात्मक योगदान दिन सक्छ । त्यसैले शिक्षाको मूल्याङ्कन खुसी, शान्ति, आनन्द र आरोग्यका आधारमा हुनुपर्छ । अभिभावक, शिक्षक, विद्यालय, स्थानीय सरकार र मन्त्रालय सबैले स्वजागरण केन्द्रित दृष्टिकोण अपनाउनुपर्छ ।

विशेषतः शिक्षक स्वयं खुसी र स्वजागृत नभएसम्म विद्यार्थीमा स्वजागरण सम्भव हुँदैन । प्रारम्भिक बालविकासदेखि नै जीवन सीप, संस्कार, आत्मज्ञान र सीपयुक्त शिक्षा दिनु अनिवार्य छ । शिक्षा खुसी, आत्मदीप्ति, शान्ति र सकारात्मक ऊर्जाका लागि हुनुपर्छ । ‘संस्कार र सिपयुक्त शिक्षा’मार्फत आत्मज्ञान र स्वजागरणलाई शिक्षाको केन्द्र बनाइएन भने न त व्यक्तिगत जीवन सुधार हुन्छ, न समाज र राष्ट्र नै समृद्ध बन्छ । आफूलाई बदल्ने व्यक्तिले मात्र संसार बदल्न सक्छ भन्ने मान्यतासहित अबको शिक्षाको अन्तिम गन्तव्य शिक्षामा स्वजागरण नै हो ।

(लेखक शिक्षा विकास तथा समन्वय एकाइ भक्तपुरको प्रमुख हुन्)