काठमाडौं, २ माघ । नेपाली कांग्रेसका विशेष महाधिवेशनबाट निर्वाचित उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोग धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा आफूहरु विश्वस्त रहेको बताएका छन् । आयोगमा पुगेका उपसभापति शर्माले सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै आन्दोलनको धम्कीबाट आयोग प्रभावित हुन नहुने बताएका हुन् ।
कांग्रेस शेरबहादुर देउवा पक्षधरका उपसभापति एवं कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले अन्यथा निर्णय गरेर आफूहरुलाई आधिकारिकता नदिएको खण्डमा देशभरबाट आन्दोलन गर्ने चेतावनी दिएका थिए । सोही प्रसंग उल्लेख गर्दै शर्माले भने, ‘निर्वाचन आयोगले हाम्रो पक्षमा निर्णय दिएन भने देशभर आन्दोलन गर्छौं भनेर केहीबेर अघि मात्र पत्रकार सम्मेलन गरिएको सुन्यौं । निर्वाचन आयोग यस्ता धम्कीबाट प्रभावित हुँदैन र आफ्नो निष्ठा भुल्दैन भन्नेमा हामी विश्वस्त छौं ।’
पार्टीका केही पूर्वपदाधिकारीसहित आज निर्वाचन आयोगमा आएको जाकारी पाएपछि आयोगलाई केही कुरा प्रष्ट पार्नुपर्छ भनेर आफूहरु आएको पनि शर्माले बताए । कांग्रेसमा अहिले विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरबीच आधिकारिकताको विवाद चुलिएको छ । आयोगले यसबारेमा चाँडै निर्णय दिने पनि बताएको छ ।




प्रतिक्रिया