मोतिराज र सुमनको सक्रियतामा ‘मालारानी’ भजन सार्वजनिक


काठमाडौं, २ माघ । अर्घाखाँचीको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको मालारानी क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ लोक भजन ‘मालारानी’ सार्वजनिक गरिएको छ। स्थानीय आस्था, परम्परा र प्राकृतिक सौन्दर्यलाई गीत–संगीतमार्फत उजागर गर्ने लक्ष्यसहित यो भजन निर्माण गरिएको हो।

सुमन खनालको परिकल्पनामा तयार भएको यस भजनमा लोकप्रिय गायक तथा सर्जक मोतिराज खनालको शब्द, संगीत र स्वर रहेको छ। खनालसँगै सुमधुर स्वरकी गायिका सुनितामी परियारले पनि सशक्त गायन प्रस्तुत गरेकी छन्। संगीत संयोजन चर्चित एरेन्जर महेन्द्र भण्डारीले गरेका हुन् भने शब्द समायोजन जनार्दन खनालले गरेका छन्।

सान्सा फिल्मको प्रस्तुति तथा मालारानी गाउँपालिकाको सहयोगमा निर्माण गरिएको यस भजनको म्युजिक भिडियोमा कलाकार सुरबिर पण्डित, शर्मिला शर्मा, सुस्मिता बुढाथोकी, शोभाखर खनाल र राजेन्द्र रानाको अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन सुरज खनालले गरेका हुन्, जसले मालारानीको धार्मिक महत्व, सामाजिक जीवनशैली र सांस्कृतिक परिवेशलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन्।

भजनको अडियो मालाश्री रेकर्डिङ स्टुडियोमा तयार गरिएको हो। रेकर्डिङ सागर बाजुराली, मिक्सिङ खडक बाजुराली तथा भिडियो सम्पादन बिनोद बमले गरेका छन्। निर्माण पक्षका अनुसार ‘मालारानी’ भजनले उक्त क्षेत्रको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। अर्घाखाँची जिल्लाको मौलिकता र धार्मिक धरोहरलाई राष्ट्रियस्तरसम्म चिनाउने प्रयासस्वरूप यस भजनलाई महत्वपूर्ण सिर्जनाका रूपमा लिइएको छ।