काठमाडौं, ३ माघ । वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले आसन्न फागुन २१ गतेको निर्वाचन नहुनुपर्ने कुनै कारण नरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले चुनाव हुनु बाध्य रहेको बताएका हुन् । अहिलेको सरकार असंवैधानिक रहेकाले यसलाई छिटोभन्दा छिटो विदाइ गरेर संवैधानिक सरकार बनाउनका लागि चुनाव बाध्य रहेको बताए । उनले निर्वाचन आवश्यकता र बाध्यता दुवै रहेको बताए ।
उनले अहिलेको चुनाव राष्ट्रवादी शक्तिविरुद्ध गणतन्त्रलगायत एमसीसी पक्षधरको बीचमा हुन गइरहेको उनले बताए । उनले अहिले जेलमा हुनुपर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीति गरेर हिँडेको टिप्पणी गरे । यसले चुनावको माहोललाई धुमिल बनाइरहेको वरिष्ठ अधिवक्ता डा.भण्डारीको टिप्पणी छ ।
‘जेलमा हुनुपर्ने रवि लामिछाने अहिले राजनीति गरेर हिँडेका छन् । अराजकता छ मुलुकमा । हतियार बाहिर छ । केही मानिसहरुले राजनीतिक दलको संरक्षणका लागि समूहहरु बनाएका छन् । यो अवस्थामा भोलि चुनावमा हिंसा होला कि, आफूलाई मन नपर्ने उम्मेदवारमाथि हालपात, कुटपाटलगायतका कार्य होलान् कि भन्ने चिन्ता त छ । तर, यो जिम्मा सरकारले लिनुपर्छ,’– उनले भने ।
उनले देशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भन्दाबाहेक अरु कुनै पनि दल राष्ट्रवादी शक्ति नरहेको बताए । पृथ्वी पथलाई नमान्ने शक्तिहरुलाई राष्ट्रवादी भन्न नसकिने बताए ।




प्रतिक्रिया