काठमाडौं, ३ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा गरेको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सभापति थापाले अब देउवाले पार्टीलाई एकढिक्का राख्नका लागि देशभरका साथीहरुलाई आह्वान गरिदिनुपर्ने बताए । उनले एउटा चरणसम्म आफूहरुको केही विमत्ति रहे पनि अब सबै एक ठाउँमा आउने कुरामा देउवाको भूमिका आवश्यक रहेको बताए ।
‘निवर्तमान सभापति शेरबहादुर देउवाबाट पनि ठूलो अभिभावकीय भूमिकाको अपेक्षा गरेको छु । उहाँले देशभरीका साथीहरुलाई भनिदिनुपर्छ । अब सकियो । एउटा चरणसम्म हाम्रा आफ्ना–आफ्ना विमतिहरु रहे । किनकी उहाँ त कार्यकारी भूमिकामा पनि हुनुहुन्थ्यो । अब सबै एक ठाउँमा आउने कुरामा उहाँको पनि भूमिका आवश्यक छ,’– उनले भने ।
आफूले पार्टीका वरिष्ठ नेता डा.शेखर कोइराला, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबाट पनि सहयोगको अपेक्षा गरेको उनले सुनाए । एक दुई दिनभित्रमा सबै कांग्रेसका नेताहरु एक ठाउँमा भएर छलफल गरिरहेको, छलफल गरिरहेको र निर्णय गरिरहेको देख्न पाइने उनले बताए ।
‘हामी एक÷दुई दिनभित्रमा सबै विषयहरु टुङ्ग्याउँछौं र एक ढिक्का भएर पार्टीलाई अगाडि बढाउँछौं । यो पक्ष, यता त्यता सबै कुरालाई मेट्छौं हामी । खाली हामीलाई अहिले समयको दवाब भएको हो । आज ३ गते भइसक्यो । ६ गते मनोनयन दर्ता गर्नुपर्ने छ,’– उनले भने ।




प्रतिक्रिया